काठमाण्डौ । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले बैशाख ३१ गतेदेखि निश्कासन गरेको आइपीओमा थामिनसक्नु आवेदन परेको छ । प्राथमिक बजारमा लगानी गर्न सर्वसाधारण समेत मरिहत्ते गर्न थालेपछि एकपछि अर्को आइपीओमा अचाक्ली आवेदन पर्ने प्रवृति देखिएको हो । 

यो जलविद्युत कम्पनीको आइपीओमा तेश्रो दिनसम्म नै १० गुणा भन्दा बढी आवेदन परेको छ । 

निश्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल क्यापिटलका अनुसार बुधबारसम्म ८० करोडको हाराहारीमा आवेदन परिसकेको छ । देशभरबाट १ लाख ७ हजार ५ सय १ आवेदनबाट ८० लाख कित्ताका लागि आवेदन परेको हो । यसरी हेर्दा आइपीओमा १०.४७ गुणा भन्दा बढी आवेदन परेको देखिएको हो । बिहीबार आवेदन दिन अन्तिम दिन भएकोले १ अर्ब रुपैयाँ भन्दा माथिको आवेदन पर्ने अवस्था देखिएको छ । 

कम्पनीले सर्वसाधारण लगानीकर्ता, आफ्ना कर्मचारी तथा म्युचुअल फण्डहरुका लागि समेत गरी ८ लाख ४० हजार कित्ता आइपीओ अंकित मूल्य १०० रुपैयाँमा निश्कासन गरेको हो । 

स्वीकृत कुल कित्तामध्ये ४ प्रतिशतले हुन आउने ३३ हजार ६ सय रैराङका कर्मचारीका लागि, ५ प्रतिशतले हुन आउने ४२ हजार कित्ता म्युचुअल फण्डहरुका लागि र बाँकी ९१ प्रतिशतले हुन आउने ७ लाख ६४ हजार ४ सय कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको छ ।  

कम्पनीले न्यूनतम ५० कित्तादेखि अधिकतम ४ हजार २ सय कित्तासम्मका लागि खरीद गर्न सकिने बताएको छ । 

यो जलविद्युत कम्पनीले गत जेठमा आयोजनास्थल पाँचथर र ताप्लेजुङका सर्वसाधारणका लागि ५  करोड ६० लाख रुपैयाँको आइपीओ बिक्री गरेको थियो । आयोजना प्रभावित क्षेत्रका बासिन्दापछि दोश्रो चरणमा सर्वसाधारणका लागि आइपीओ निश्कासन हुन लागेको हो । 

हाल कम्पनीको जारी पुँजी ५६ करोड रुपैयाँ रहेको छ । कम्पनीमा  संस्थापक सेयरधनीको स्वामित्व ७५ प्रतिशत रहेकोमा त्यसलाई घटाउन आइपीओ जारी गरिएको हो ।

रैराङले पाँचथर र ताप्लेजुङको सिमा क्षेत्रमा ९.९ मेगावाटको इवाखोला जलविद्युत आयोजना निमार्ण गरेको छ । यो आयोजनामा २५ प्रतिशत सेयर स्वामित्व रिडी हाइड्रोपावरको रहेको छ ।