– रेखा चन्द
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९’ भएको व्यवस्थाबमोजिम यसअघि रोक्का रहेका कम्पनीहरुका सेयर कारोबार खुल्न ढिलाइ हुने देखिएको छ।
सेबोनको उक्त निर्देशिका बिहीबारबाट लागू भइसकेको छ। निर्देशिका लागू हुनुअघि मर्जर प्रयोजनका लागि रोक्का रहेका कम्पनीहरुका सेयर कारोबार सम्बन्धित निकायको अनुमतिमा फुकुवा गर्न सक्ने बाटो खुला भएको छ।
सेबोनले मर्जर प्रयोजनका लागि लामो समयदेखि रोक्का रहेका कम्पनीहरुको सेयर कारोबार फुकुवा गर्ने बाटो खुला गरिदिए पनि तत्कालै त्यस्ता कम्पनीहरुको सेयर कारोबारमा आउने सम्भावना भने कम देखिएको छ।
निर्देशिकाअन्तर्गत विभिन्न प्रावधान पूरा गरी सेयर कारोबार फुकुवाका लागि नेपाल स्टक एक्सचेज (नेप्से) मा निवेदन दिनुपर्ने भएकोले यो प्रक्रियामा ढिलाइ हुने सकारोकारवाला निकायहरु नै बताउँछन्।
हाल मर्जर प्रयोजनका लागि ८ वाणिज्य बैंकसहित ३५ वटा कम्पनीको सेयर कारोबार नेप्सेले रोक्का गरेको छ। जसमा बैंक अफ काठमाण्डौ, ग्लोबल आइएमई, मेगा, नेपाल इन्भेस्टमेन्ट, सिभिल, सेन्चुुरी, कुमारी र एनसीसी बैंक पनि छन्। ‘नयाँ निर्देशिकाबमोजिम अब यी बैंकहरुले सेयर कारोबार फुकुवा गर्न नियमनकारी निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति ल्याएर सीडीएससी र नेप्सेमा बुुझाउनुपर्छ’, नेप्सेका एक अधिकारीले भने, ‘त्यसपछि नेप्सेले तत्काल कारोबार फुकुवा गरिदिन्छ। तर, मर्जरमा रहेका बैंकहरुले धेरै प्रक्रिया पूरा गर्नुपर्ने भएकोले आजको भोलि नै राष्ट्र बैंकबाट स्वीकृति पत्र ल्याउने सम्भावना देखिँदैन। त्यसैले केही समय लाग्न सक्छ।’
बैंकहरुमात्रै नभई मर्जर प्रक्रियामा रहेर फाइनान्स र लघुवित्त संस्थाले सेयर कारोबार फुकुवाका लागि राष्ट्र बैंकबाट स्वीकृति पत्र ल्याउनुपर्ने ती अधिकारीको भनाइ छ। ‘त्यस्तै बीमा कम्पनीले बीमा प्राधिकरणबाट स्वीकृतिपत्र ल्याउनुपर्छ’, ती अधिकारीले भने।
निर्देशिकाको दफा १३ को उपदफा ४ ले पनि अन्यत्र जुनसुकै कुरा लेखिएको भए पनि सम्बन्धित नियमनकारी निकायले सेयर कारोबार रोक्का राखेका भएमा सम्बन्धित नियमनकारीको सहमतिमा आधारभूत सेयरधनीबाहेकका सेयरधनीको सेयर कारोबार फुुकुुवा गर्ने सकिने व्यवस्था छ। सोही व्यवस्थाबमोजिम सेयर कारोबार फुुकुुवा गर्नुपर्ने भएकोले केही समय लाग्न सक्ने बैंकरहरु बताउँछन्।
कुमारी बैंकका सीईओ रामचन्द्र खनाल मर्जर प्रक्रियामा रहेका बैंकहरुले रोक्का रहेको सेयर कारोबार फुकुवाका लागि संयुक्त मर्जर समितिले निर्णय गर्नुपर्ने बताउँछन्। ‘किनकि बैंकहरु मर्जर प्रक्रिया रहँदा सबै निर्णय गर्ने अधिकार संयुक्त मर्जर समितिलाई दिइएको हुन्छ’, उनले भने, ‘सोही समितिले निर्णय गरेरमात्रै राष्ट्र बैंकमा सेयर कारोबार फुकुवाका लागि स्वीकृति माग्ने काम हुन्छ।’
यी सबै प्रक्रिया पूरा गर्न मर्जर प्रक्रियामा रहेका बैंकहरुलाई कम्ती एक साता लाग्न सक्ने खनालको भनाइ छ। ‘रोक्का रहेको सेयर कारोबार खुुलाउन बैंकहरुले नियमनकारी निकायको पनि सहमति अनिवार्य रुपमा लिनुुपर्छ’, उनले भने।
मेगा बैंकका वरिष्ठ नायब महाप्रबन्धक तथा प्रमुुख सूूचना अधिकारी तुलसीराम पोखरेलले सेबोनले ल्याएको मर्जरसम्बन्धी निर्देशिकाअनुसार नै रोक्का रहेको सेयर कारोबार फुकुवाका लागि अगाडि बढिने बताउँछन्। ‘निर्देशिकामा भएका व्यवस्था तथा प्रक्रियाहरु अध्ययन गरिरहेका छौँ’, उनले भने, ‘सकभर सेयर कारोबार फुकुवा गर्ने प्रक्रिया छिट्टै पूरा कोसिस हुनेछ।’
मर्जर प्रयोजनका लागि हाल ८ वाणिज्य बैंकसहित ८ वटा जीवन बीम कम्पनी, १० वटा लघुवित्त, ८ वटा निर्जीवन बीमा कम्पनी र एउटा फाइनान्स कम्पनीको सेयर कारोबार रोक्का छ।
सेबोनले ल्याएको मर्जर निर्देशिकामा अब मर्जरमा जाने कम्पनीहरुको सेयर कारोबार बढीमा १५ दिनमात्रै रोक्का गर्न पाइने व्यवस्था छ। यसअघि मर्जर प्रयोजनका लागि लामो समयसम्म सेयर कारोबार रोक्का हुँदा लगानीकर्ता मर्कामा पर्दै आएका थिए। उनीहरुले मर्जर प्रयोजनका लागि सेयर कारोबार रोक्का गर्ने समयावधि छोट्याउनुपर्ने माग गर्दै आएका थिए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19