काठमाण्डौ। विश्व महामारी कोरोनाथभाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी लकडाउनलाई थप १ साता लम्बाउने तयारी गरिरहेको बुझिएको छ।

आज अपराह्न ४ बजे बस्ने मन्त्रिपरिषद्को बैठकले लकडाउनको अवधि १ साताका लागि बढाउने निर्णय लिन गृह मन्त्रालय स्रोत बताउँछ। फ्रान्समा अध्ययनरत एक नेपाली किशोरीमा कतारहुँदै नेपाल फर्किएपछि कोरोनाको संक्रमण देखिएपछि सरकारले मंगलबार विहान ६ बजेबाट लागू हुने गरी एक साता लामो लकडाउन घोषणा गरेको थियो। यो लकडाउनको अवधि चैत १८ गते बिहान ६ बजेसम्म रहेको छ। 

सम्भवतः आजको मन्त्रिपरिषद् बैठकले चैत १८ गते बिहान ६ बजदेखि नै निरन्तर हुने गरी १ साताका लागि लकडाउनको अवधि थप गर्ने स्रोत बताउँछ। 

मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेका हुन्। बैठकले लकडाउन बढाउने निर्णयसँगै अन्य अत्यावश्यक सेवा प्रवाहका विषयमा निर्णयहरु लिने बताइएको छ। 

नेपालमा हालसम्म ५ जनालाई कोरोनाभाइरसको संक्रमण देखिसकेको छ। जसमध्ये एकजना निको भएर घर फर्किसकेका छन् भने अन्य ४ जना चिकित्सकको निगरानीमा उपचार भइरहेको छ।