काठमाण्डौ । दोस्रो चरणको लकडाउन सकिन केही दिनमात्र बाँकी रहँदा भारतले अलपत्र परेका कामदार, विद्यार्थी र पर्यटकलाई एउटाबाट अर्को राज्य जान खुला गरिने भएको छ।

भारतमा दोस्रो चरणको लकडाउन मे ३ मा सकिँदैछ। भारतको गृह मन्त्रालयले अलपत्र परेकाहरुलाई आफ्नो गन्तव्यमा जान राज्यहरुलाई निर्देशन दिएको हो। लकडाउनका कारण विभिन्न ठाउँमा अलपत्र परेका प्रवासी कामदार, तीर्थयात्री, विद्यार्थी, पर्यटक र अन्य व्यक्तिलाई आउजाउ खुला गरिएको निर्देशनमा उल्लेख छ।

गृहसचिव अजय भल्लाद्वारा जारी निर्देशनमा दुई राज्यबीचको समझदारीमा आउजाउ खुला गर्दा सामाजिक दूरी र सेनिटाइज्डको व्यवस्था भने कायमै हुनुपर्ने उल्लेख छ। कोभिड–१९ को लक्षण नभएकालाई यात्रा अनुमति दिइने तर गन्तव्य पुगेपछि सम्बन्धित राज्य सरकारले उनीहरूको स्वास्थ्य पुनः परीक्षण गर्नुपर्ने निर्देशनमा उल्लेख छ। 

लकडाउनका कारण अलपत्र परेका र कामविहीन बनेका मजदुरहरुले गुजरात र महाराष्ट्रमा घर फर्किन पाउनुपर्ने माग गर्दै प्रदर्शन गरिरहेका छन्। ती प्रदर्शनहरुमा झडपसमेत भएका घटनाहरु सार्वजनिक भइरहेका छन्। 

त्यसो त सरकार निर्देशनअघि नै उत्तर प्रदेश, मध्य प्रदेश, विहार, महाराष्ट्र, हरियाणालगायत राज्यले अलपत्र कामदारको उद्धार गर्न नाम दर्ता गर्न थालिसकेका छन्। 

कामदारको आवागमन ध्यानमा राख्दै सरकारले रेल्वे सेवा नियमित गर्ने तयारी थालेको छ। सामाजिक दूरी राखेर रेल सञ्चालनको तयारी गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

दोस्रो चरणको लकडाउनलगत्तै विदेशमा अलपत्र परेका भारतीयलाई स्वदेश फर्काउने तयारी भइरहेको भारतको गृहमन्त्रालयले जनाएको छ। त्यसरी आएकालाई १४ दिन क्वरेन्टाइनमा राख्ने व्यवस्था गरिनेछ। 

भारतमा अलपत्र नेपालीको उद्धारमा सरकार उदासीन

भारतमा जारी लकडाउनका कारण दिल्लीलगवायत विभिन्न ठाउँमा हजारौँ नेपाली कामदार, विद्यार्थी, तीर्थयात्री र उपचारका लागि आएकाहरु अलपत्र परेका छन्। उनीहरूलाई उद्धार गर्न नेपाल सरकारबाट कुनै प्रतिबद्धता र निर्देशन नआएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ। दूतावासले अलपत्र परेका नेपालीहरूको विवरण लिने काम सुरु गरेको छ। 

यसैबीच भारतको गृह मन्त्रालयले मे ४ देखि लागू हुने गरी कोभिड–१९ संक्रमण नियन्त्रण र रोकथामबारे नयाँ दिग्दर्शन जारी गर्ने तयारी पनि गरिरहेको छ।