काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि देशमा चैत ११ गतेबाट जारी गरिएको लकडाउन वैशाख २५ गतेसम्म लम्बाइएको छ।

कोरोना रोकथाम अभियानअन्तर्गत जारी गरिएको लकडाउन अलपत्र परेकाहरुलाई उद्धार गर्ने नाममा उल्लंघन क्रम बढेको भन्दै गृह मन्त्रालयले जथाभावी यातायात सञ्चालनमा कडाइ गर्न सुरक्षा निकाय र स्थानीय प्रशासनलाई सोमबार परिपत्र गरेको छ।

केही दिनयता उपत्यकाका विभिन्न स्थानमा सवारीसाधनको चाप पनि बढेको छ। लकडाउन व्यापाक रुपमा उल्लंघन भइरहेको पाएपछि मन्त्रालयलेसुरक्षा निकाय र ७७ वटै जिल्लाका प्रशासन कार्यालयलाई परिपत्र गर्दै पासविनाका सवारी आवतजावतमा पूर्ण रुपमा रोक लगाउन निर्देशन दिएको हो।

परिपत्रमा अत्यावश्क सेवाका लागि पास नचाहिने उल्लेख छ। अरुको हकमा विना पासका सवारी चलाउन नदिनू भनेर परिपत्रमा निर्देशन दिइएको छ। 

गृह मन्त्रालयले जथाभावी रुपमा लकडाउन उल्लंघन गर्ने गतिविधि बढेपछि फेरि परिपत्र गर्नुपरेको जनाएको छ। गृह मन्त्रालयको परिपत्रसँगै उपत्यकामा सवारीसाधन सञ्चालनमा कडाइ गरिएको छ। सोमबार मात्रै १ हजार बढी मानिस र ६० भन्दा बढी सवारीसाधन कारबाहीमा परेका छन्। 

पछिल्लो समय विभिन्न जिल्लाका स्थानीय तहहरुले काठमाण्डौ उपत्यकामा अलपत्र परेकाहरु थुप्रैलाई गाउँमा फर्काएका छन्। उता पूर्वी नेपालका विभिन्न स्थानबाट पनि सयौँका संख्यामा अलपत्र परेका यात्रुहरुलाई काठमाण्डौ उपत्यका पठाउने काम भयो। 

जथाभावी आफूखुसी अलपत्र यात्रुका नाममा सवारीसाधन कुदाउन थालिएपछि गृह मन्त्रालयले कडाइ गर्न सुरक्षा निकाय र स्थानीय प्रशासनलाई निर्देशन दिएको मन्त्रालय स्रोत बताउँछ।