काठमाण्डौ। कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि छिमेकी मुलुक भारतमा जारी लकडाउन फेरि केही दिनका लागि बढ्न सक्ने प्रधानमन्त्री नरेन्द्र मोदीले संकेत गरेका छन्।

प्रधानमन्त्री मोदीले लकडाउन बढाउने विषयमा सोमबार सबै राज्यका मुख्यमन्त्रीहरुसँग छलफल गरेका थिए। छलफलमा लकडाउनको अवधि बढाउनुपर्ने राय जुटेको भारतीय समाचार एजेन्सीहरुले जनाएका छन्।

अहिले भारतमा तेस्रो चरणको लकडाउन जारी छ। जारी लकडाउनमा कोरोना संक्रमण रोक्नका लागि सावधानी अपनाइनुका साथै केही प्रतिबन्ध पनि जारी राखिएको छ। अब चौथो चरणको लकडाउन भने केही खुकुलो हुन सक्ने अनुमान गरिएको छ। 

छलफल प्रधानमन्त्री मोदीले संक्रमणको दर क मगर्दै विस्तारै सार्वजनिक गतिविधि बढाउन आवश्यक रहेको बताएका थिए। ‘ता कि अर्थव्यवस्था सुरु गर्न सकियोस्’, उनले भनेका थिए।

भारतमा तेस्रो चरणको लकडाउन मे १७ मा सकिँदैछ।

यसैबीच प्रधानमन्त्री मोदीले आज (मंगलबार) राति ८ बजे राष्ट्रका नाममा सम्बोधन गर्दैछ। उनको सम्बोधन विशेषगरी कोरोना संक्रमणमै केन्द्रित हुने अनुमान गरिएको छ। – एजेन्सी