काठमाण्डौ । लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको छ।
काठमाण्डौको नक्सालस्थित होटेल मेरियटमा आज आयोजित एक कार्यक्रमबीच दुवै बैंकबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको हो। सम्झौतापत्रमा लक्ष्मी बैंकका तर्फबाट अध्यक्ष रमण नेपाल र सनराइज बैंकका तर्फबाट मोतीलाल दुगडले हस्ताक्षर गरेका छन्।
दुवै बैंकबीच अहिलेलाई १ः१ अनुपातमा मर्ज हुने सम्झौता भए पनि डीडीए रिपोर्टअनुसार स्वाप रेसियो निर्धारण गरिने सहमति भएको छ।
यससँगै मर्जर प्रक्रिया अगाडि बढाउनका लागि एक संयुक्त मर्जर समितिको गठनसमेत गरिएको छ। संयुक्त मर्जर समितिमा लक्ष्मी बैंकका तर्फबाट सञ्चालकहरु डा. मनिष थापा र स्वति रुङ्गटा तथा सनराइज बैंकका तर्फबाट सञ्चालकहरु शारदा शर्मा र दिपक नेपाल रहनेछन्। दुवै बैंकको विस्तृत ड्यु डिलिजेन्स अडिटका लागि लेखापरिक्षकको नियुक्ति पनि गरिनेछ।
मर्जरपछि बन्ने बैंकको नाम ‘लक्ष्मी सनराइज बैंक लिमिटेड’ राख्ने सहमति भएको छ। मर्जर प्रक्रिया असार मसान्तसम्म सक्ने लक्ष्य राखिएको लक्ष्मी बैंकका एक संस्थापकले बताए।
नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त भएपछि औपचारिक रुपमा मर्जर प्रक्रिया सुरु हुनेछ।
कार्यक्रममा दुवै बैंकका सञ्चालक समितिका सदस्यहरु, प्रमुख शेयरधनीहरु, प्रमुख कार्यकारी अधिकृतका साथै अन्य उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति थियो।
हाल लक्ष्मी बैंकको ११ अर्ब ५५ करोड रुपैयाँ रहेको छ भने सनराइज बैंकको १० अर्ब ११ करोड रुपैयाँ चुक्तापुँजी रहेको छ। बराबरी हैसियतमा मर्जरमा गएमा बैंकको चुक्तापुँजी २१ अर्ब ६६ करोड रुपैयाँ पुग्नेछ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19