काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा कुनै पनि कम्पनी वा योजनाका सेयर वा इकाइमूल्य कारोबार अवधिमा १० प्रतिशत घटबढ भएमा सर्किट लाग्छ। 

यदि कुनै पनि कम्पनी तथा योजनाका सेयर वा इकाइमूल्यमा १० प्रतिशतले बढोत्तरी भएमा पोजिटिभ र गिरावट आएमा नेगेटिभ सर्किट लाग्छ। यो सबैलाई थाहा भएकै कुरा हो।

आज मंगलबारको कारोबारमा भने लक्ष्मी म्युचुअल फन्डद्वारा सञ्चालित लक्ष्मी उन्नति कोषको मूल्यमा भने १०.०४ प्रतिशत बढेको छ। योसँगै यो म्युचुअल फन्डको मूल्य प्रतिइकाइ बढेर १४.२५ रुपैयाँ छ। आजमात्रै यो फन्डको इकाइ मूल्य १.३० रुपैयाँले बढेको छ। हिजोको अन्तिम कारोबार मूल्यअनुसार यो म्युचुअल फन्डको प्रतिइकाइ मूल्य १२.९५ रुपैयाँ रहेको थियो।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रवक्ता मुराहरी पराजुलीले कुनै पनि धितोपत्रको मूल्य कारोबार हुँदा १० प्रतिशतले घटबढ भएमा सर्किट लाग्ने गरेको बताए। ‘१०.०४ प्रतिशत बढेको देखिनु सामान्य प्राविधिक कारण हुन सक्छ’, उनले भने, ‘कहिलेकाहीँ प्राविधिक त्रुटि हुन सक्छ, सच्चाउँछौँ।’ 

लक्ष्मी उन्नति कोषले आजमात्रै इकाइधनीहरुलाई गत आर्थिक वर्षका लागि २५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको थियो। जसका कारण मार्केट डेप्थमा यस योजनाका इकाइहरुमा उच्च खरिदचाप देखिएको छ। बिक्रीतर्फ भने शून्य रहेको छ।