काठमाण्डौ । लक्ष्मी सनराइज बैंकको सेयर भोलि सोमबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ। 

मर्जरपछि लक्ष्मी सनराइज बैंकको नामबाट नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज सेयर सूचीकृत भएसँगै सोमबारबाट कारोबार खुल्ने भएको हो। नेप्सेमा लक्ष्मी सनराइज बैंकको नाममा कुल २१ करोड ६७ लाख २ हजार ३७९ कित्ता सेयर सूचीकृत भएको छ। 

नेप्सेले मर्जरपछिको पहिलो कारोबार लक्ष्मी सनराइज बैंकलाई प्रतिकित्ता १७३.०५ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ। भोलि यही मूल्यबाट यो बैंकको सेयर कारोबारमा आउनेछ। 

नेप्सेले मर्जरपछि बनेको लक्ष्मी सनराइज बैंकलाई ‘एलएसएल’ कारोबार संकेत प्रदान गरेको छ। 

साबिक लक्ष्मी र सनराइज बैंक १ः१ अनुपातमा मर्ज भएका हुन्। यी दुवै बैंकले गत असार २९ गतेबाट एकीकृत कारोबार सुरु गरेका थिए। 

नेप्सेले असार २९ गतेबाट मर्जर प्रयोजनका लागि यी दुवै बैंकको सेयर कारोबार रोक्का गरेको थियो।