काठमाण्डौ । गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको बुधबार सेयरमूल्य समायोजन गरिएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) लक्ष्मी लघुवित्तको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ५९३.९१ रुपैयाँ कायम गरेको छ । समायोजित मूल्यअनुसार दोस्रो बजारमा लक्ष्मी लघुवित्तको सेयर कारोबारमा आउनेछ ।

मूल्य समायोजनअघि मंगलबार लक्ष्मी लघुवित्तको अन्तिम सेयरमूल्य प्रतिकित्ता ६८३ रुपैयाँ रहेको थियो ।

लक्ष्मी लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई कुल २६.३२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

चुक्ता पुँजी २४ करोड २० लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने ३ करोड ६३ लाख रुपैयाँबराबरको बोनस सेयर र ११.३२ प्रतिशतले हुन आउने २ करोड ७३ लाख ८४ हजार २११ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) वितरणको प्रस्ताव गरेको छ ।

संस्थाले मंसिर २० गते काठमाण्डौको कमलपोखरीस्थित अग्रवाल भवनमा आफ्नो आठौँ वार्षिक साधारणसभा गर्दैछ । सभाले प्रस्तावित लाभांश पारित गर्नेछ ।

संस्थाले आफ्नो सभा र लाभांश वितरण प्रयोजनका लागि बुधबार (मंसिर ११ गते) देखि मंसिर २० गतेसम्म बुक क्लोज गर्दैछ । यसको मतलब मंसिर १० गतेसम्म कायम सेयरधनीहरुले संस्थाद्वारा प्रस्तावित लाभांशको हकदार बन्न पाउने छन् ।