काठमाण्डौ । पछिल्लो समय सेयर बजार घटेपछि सरकारको राजस्वको लक्ष्यमा पनि असर परेको छ । 
 

धितोपत्र कारोबारको राफसाफकर्ता सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले दिएको जानकारीअनुसार
 

विगत पाँच महिनामा पूँजीबजारबाट लाभकरबापत सरकारले जम्मा १ अर्ब १५ करोड रुपैयाँ मात्रै राजस्व उठाएको छ । सरकारले चालू आर्थिक वर्ष २०८०/०८१ को बजेटमा पूँजीबजारबाट ३२ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ । तर गएको विगत पाँच  महिनामा सरकरले लक्ष्यको करिब चार प्रतिशतभन्दा कम मात्रै राजस्व उठाएको छ ।

पाँच महिना मध्येमा पनि चालू आवको पहिलो महिना  साउनमा ४० करोड हाराहारी, भदौमा १४ करोड, असोजमा २१ करोड, कात्तिकमा ८ करोड ४१ लाख र मसिंरमा ३० करोड ५३ लाख रुपैयाँ बराबर राजस्व लाभकर शिर्षकबाट संकलन गरेको छ । 
 

जसमा साउन महिनामा सबैभन्दा धेरै र कात्तिक महिनामा सबैभन्दा कम ८ करोड ४१ लाख रुपियाँ राजस्व उठेको छ । कात्तिकमा सेयर बजार जम्मा १२ दिन मात्रै कारोबार भएको थियो । त्यही कारण राजस्व कम उठेको देखिन्छ ।

यस हिसावले सार्वजनिक विदा हुँदाहोस या सार्वजनिक विदा थपिदै जाँदा सरकारलाई भने ठूलै राजस्व नोक्सानी हुने गरेको पाइएको छ । हाल पूँजीबजारमा अल्पकालीन र दीर्घकालीन लगानीकर्ताका लागि पूँजीगत लाभकरमा फरक-फरक व्यवस्था  छ। 
सरकारले ३६५ दिनभन्दा कम अवधि सेयर होल्ड गर्ने अल्पकालीन लगानीकर्तालाई ७.५ प्रतिशत र ३६५ दिनभन्दा बढी सेयर होल्ड गर्ने दीर्घकालीन लगानीकर्तालाई ५ प्रतिशत लाभकरको व्यवस्था लागू गरेको छ।
संस्थागत लगानीकर्ताले भने १० प्रतिशत लाभकर तिर्नुपर्ने व्यवस्था छ।
 

धितोपत्रको दोस्रो बजारमा संस्थागत लगानीकर्ताभन्दा व्यक्तिगत लगानीकर्ताको संख्या बढी छ ।जसअन्तरगत व्यक्तिगत लगानीकर्तामा पनि ट्रेडरको संख्या धेरै  छ।


स्रोत : सिडिएस एन्ड क्लियरिङ लिमिटेड