काठमाण्डौ । भदौ महिना लागेपछि दोश्रो पटक भएको कारोबारले पूँजीबजारमा निराशा छाएको देखिएको छ । 

ठूला लगानीकर्ताहरु सेयर कारोबारमा खासै सक्रिय नदेखिएका, साना लगानीकर्ताहरुले सेयर घट्ने आशंकामा बिक्रीको हतारो देखाएका, ठूला लगानीलाई लक्षित गर्दै कालोधनको छानबिन भित्र–भित्रै तीव्र पारिएको लगायतका कारणहरुले हराभरा हुनुपर्ने भदौ महिनामा दोश्रो पटक भएको कारोबार घटेको हो । सार्वजनिक विदाका कारण भदौ लागेपछि आइतबारको कारोबार दोश्रो हो । 

आइतबार एक समूहको सूचक बाहेक बाँकी सबै सूचकमा रातो पोतिएको छ । १२.६३ अंकले घटेको नेप्से १७२२.४३ अंकमा झरेको छ । 

सबैभन्दा धेरै बिमा समूहको सूचकमा पहिरो गएको छ । यो समूहको सूचक ८१.२९ अंकले ओरालो लागेको हो । जलविद्युत समूह ३८.८१ र उत्पादनमूलक ३२.६ अंकले तल झरेका छन् । 

वाणिज्य बैंक १०.४१ अंकका साथ ओर्लिएको छ भने विकास बैंक र बित्त समूहमा क्रमशः १३.८२ र १३.४३ अंकको गिरावट देखिएको छ । 

अन्य समूह ४.३४ अंकले ओर्लिए पनि होटल समूहमा भने ६४.६३ अंकको उछाल देखिएको छ । 

आइतबार कारोबार रकम पनि निकै तल झरेको छ । कुल १४२ कम्पनीको १० लाख ३१ हजार ५ सय ६६ कित्ता सेयर ६८ करोड ७७ लाख ५२ हजारका कारोबार भयो । 

सबैभन्दा बढी हिमालयन जनरल इन्स्योरेन्सको ६ करोडको सेयर किनबेच भयो । नेपाल बंगलादेश बैंकको  ५ करोड १७ लाख, एभरेष्ट बैंकको ३ करोड २१ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकको २ करोड ९४ लाख बराबरको सेयर किनबेच भयो । धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ६ स्थान वाणिज्य बैंकले कब्जा गरे भने २ स्थान बिमा र २ स्थान जलविद्युत समूहको पोल्टामा पर्यो । 

धेरै कमाउने र गुमाउनेहरु
कारोबार रकम कम भएर नेप्से घट्दा समेत हाम्रो विकास बैंकको सेयर मूल्य ९.८६ प्रतिशतले वृद्धि भयो । यसैगरी, गत साताको धेरै कमाउने सूचिमा सिद्धार्थ डेभलपमेन्ट बैंक पनि निरन्तर रहन सफल भयो । यो बैंकको सेयर मूल्य ९.७८ प्रतिशतले बढ्यो । हिमालयन जनरल इन्स्योरेन्स, राप्तिभेरी विकास बैंक, एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्डका लगानीकर्ताले समेत सम्पत्ति बढाए । 

आइतबार सबैभन्दा धेरै मिथिला लघुवित्त विकास बैंकका लगानीकर्ताले गुमाउनुपर्यो । यो कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले घट्यो । यसैगरी बोटलर्स नेपाल(तराई) लिमीटेडको सेयर मूल्य पनि करिब ८ प्रतिशतले घट्यो भने शिखर इन्स्योरेन्सको प्रोमोटर सेयरको मूल्यमा करिब ६ प्रतिशतको गिरावट देखियो । रिदी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले समेत सम्पत्ति गुमाउन पुगे ।