काठमाण्डौ । मंगलबार नेप्से परिसूचक झिनो अंकले घटे पनि कारोबार रकम भने बढेको छ । तीनवटा बाहेकका सबै समूहको सूचकमा रातो पोतिए पनि कारोबार रकम चाहि बढेको हो । 

बजार विश्लेषकहरुका अनुसार ठूला कम्पनीहरुले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट धमाधम लाभांश घोषणा गर्न थालेपछि लाभांश लिएर सेयर बिक्री गरी नाफा सुरक्षित गर्नेहरु बढेका कारण बजारमा यस्तो अवस्था देखिएको हो । इण्डेक्स सामान्य अंकले घट्नु, तर कारोबार चाहि अघिल्लो कारोबार दिनको तुलनामा बढ्नुले आगामी दिनमा बजार माथि उक्लिने संकेत गरिरहेको विश्लेषकहरुले बताएका छन् । 

नेप्से परिसूचक ३.५२ अंकले घटेर १८१५.१७ अंकमा झरेको छ भने १ अर्ब ३७ करोड ४२ लाख भन्दा बढीको कारोबार भएको छ । 

मंगलबार होटल, बिमा र उत्पादनमूलक बाहेकका सबै समूहको सूचकमा रातो पोतियो । होटल समूह ४०.४४ अंकले बढ्यो भने बिमा समूह ९०.२५ अंकले उक्लिएको छ । उत्पादनमूलक भने ७.५७ अंकले उक्लिएको छ । 

मंगलबार वाणिज्य बैंक समूह ५.४१ अंकले घट्यो भने विकास बैंक र बित्त समूह क्रमशः ८.५२ र ०.४८ अंकले तल झरे । जलविद्युत समूहमा ८.५२ अंकको गिरावट देखियो भने अन्य समूह १५.०४ अंकले घट्यो । 

१ सय ४७ कम्पनीका कुल १६ लाख ६४ हजार १ सय ८३ कित्ता सेयर किनबेच भयो । मंगलबार सेन्सेटिभ र फ्लोट दुवै इण्डेक्स झिनो अंकले घटे । 

धेरै कारोबार गर्ने कम्पनी
मंगलबार सबैभन्दा धेरै कारोबार मुक्तिनाथ विकास बैंकले गर्यो । यो बैंकको १२ करोड ६३ लाख बराबरको सेयर कारोबार भयो । यस्तै, एनआइसी एशिया बैंकले ७ करोड २५ लाख, सनराइज बैंकले ६ करोड ९० लाख, नवील बैंकले ६ करोड १२ लाख, प्रभू इन्स्योरेन्सले ६ करोड ११ लाख, नेपाल बंगलादेश बैंकले ४ करोड ८९ लाखको सेयर कारोबार गरे । सिद्धार्थ बैंकले ४ करोड २५ लाखको कारोबार गर्यो भने एनएमबी बैंकको ३ करोड ६७ लाख, एभरेष्ट बैंकको ३ करोड ६७ लाख बराबरको कारोबार भयो । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३ करोड ४० को कारोबार भयो । 

धेरै कमाउने र गुमाउनेहरु
मंगलबार तीनवटा कम्पनीले १० प्रतिशतको हाराहारीमा सेयर मूल्य बढाए । किसान माइक्रो फाइनान्स बित्तीय संस्था, न्याग्दी ग्रुप पावर लिमीटेड र त्रिवेणी विकास लिमीटेडको प्रोमोटर सेयरको मूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएको हो । गुड्विल फाइनान्स कम्पनीले लिमीटेडको सेयर मूल्य पनि ६ प्रतिशतले वृद्धि भयो भने कावेली विकास बैंक लिमीटेडको सेयर मूल्य पनि साढे ५ प्रतिशतले बढ्यो । 

सबैभन्दा क्षति एक्सल डेभलपमेन्ट बैंक लिमीटेडका  प्रोमोटर सेयरधनीहरुलाई भएको छ । उनीहरुले आफ्नो सेयर मूल्यमा ९ प्रतिशत भन्दा बढीले गुमाउनुपरेको छ । युनियन फाइनान्स कम्पनी लिमीटेडको सेयर मूल्य करिब साढे ५ प्रतिशतले घट्यो भने  र जेबिल्स फाइनान्सको सेयर मूल्य ४ प्रतिशत भन्दा बढीले घट्यो ।