काठमाण्डौ । लगानीकर्ता चुनावी गतिविधिमा केन्द्रीत बन्दा नेप्से परिसूचक मंगलबार पनि बढ्न सकेन । केही कम्पनीले हकप्रदका लागि बुक क्लोज मिति तोकेका कारण त्यसमा लगानीकर्ताको भीडभाड देखिए पनि नेप्से परिसूचक भने २.६३ अंकले घटेर १५६५.०९ अंकमा झरेको छ । 

चुनावी गतिविधि तीव्र भई भोलि मतदानको दिन भएका कारण पनि धेरै लगानीकर्ता आ आफ्नो गृहक्षेत्रमा मतदानका लागि फर्किएका कारण बजारको चहलपहल नदेखिएको हो । 

मंगलबार तीन समूहको सूचकमा झिनो बढोत्तरी र बाँकी सबै समूहको सूचकमा गिरावट देखिएको छ । बिमा समूह ५.४२ अंकले बढ्यो भने विकास बैंक समूह ०.५९ र अन्य समूह ०.२९ अंकले बढे। 

यस्तै, वाणिज्य बैंक समूह ३.४७ अंकले घट्यो भने होटल, जलविद्युत र बित्त समूहमा क्रमशः ३.४, ९.७६ र ६.७८ अंकको गिरावट आयो । उत्पादनमूलक समूह ५.०४ अंकले घट्यो । 

'क' वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ०.४९ अंकले घट्यो भने प्mलोट इण्डेक्स ०.३ अंकले घट्यो । 

धेरै कारोबार गर्ने कम्पनी
मंगलबार १ सय ५१ कम्पनीका १० लाख २८ हजार ७ सय ५० कित्ता सेयर ६१ करोड ९१ लाख ३४ हजार ६ सय ३९ रुपैयाँमा किनबेच भयो । सबैभन्दा बढी हिमालयन जनरल इन्स्योरेन्सले ५ करोड १४ लाख बढीको कारोबार गर्यो । यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्सले ४ करोड ६१ लाख, स्ट्याण्डर्ड चार्टर्डले ३ करोड ९८ लाख, नेपाल बैंकले ३ करोड ३७ लाख, एभरेष्ट बैंकले २ करोड ४० लाख बढीको कारोबार गरे । यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ६ स्थान वाणिज्य बैंक र चार स्थान बिमा कम्पनीले कब्जा गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
मंगलबार सबैभन्दा धेरै राष्ट्रिय बिमा कम्पनी लिमीटेडको संस्थापक सेयरधनीले कमाए । यो कम्पनीको संस्थापक सेयरको मूल्य ६.०९ प्रतिशतले बढ्यो । यस्तै, फरवार्ड माइक्रो फाइनान्सको मूल्य ६.०३, लुम्बिनी जनरल इन्स्योेरेन्सको मूल्य ६ प्रतिशतको हाराहारीमा वृद्धि भयो । 

यस्तै, यो दिन सबैभन्दा बढी वल्र्ड मर्चेन्ट बैकिंग एण्ड फाइनान्स लिमीटेडको मूल्य घट्यो । यो कम्पनीको मूल्य १० प्रतिशतको हाराहारीमा घट्यो ।