काठमाण्डौ । सिद्धार्थ इक्वीटी फण्डले खुलाएको १ अर्ब २० करोड मूल्यको सार्वजनिक निश्कासनमा पहिलो दिन नै ३३ करोड बढीको आवेदन परेको छ । 

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार देशभरबाट २ हजार ५ सय १३ आवेदकले ३३ करोड बढीको प्रस्ताव पेश गरेका हुन् । 

यो म्युचुुअल फण्डले असोज २५ गते(बुधबार)देखि १.२० करोड मूल्यका इकाईहरुको सार्वजनिक निश्कासन गरेको थियो । पहिला दिन नै ३३ करोडको आवेदन पर्नुलाई निकै सकारात्मक रुपमा लिन सकिन्छ । सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा यसअघि संचालित २ वटा म्युुचुुअल फण्डले इकाईधनीलाई राम्रो रिटर्न दिएका कारण समेत उसैको नयाँ स्किममा लगानीकर्ताको उत्साहजनक सहभागिता देखिएको हो । 

१० वर्षे बन्दमुखी यो स्किमको इकाई खरीदका लागि आगामी असोज २९ गतेसम्म आवेदन दिनसकिनेछ । सो बेलासम्म पनि माग गरे अनुसार आवेदन नपरे अधिकतम मिति कात्तिक ७ लाई तोकिएको छ । 

इच्छुक लगानीकर्ताले न्यूनतमा १०० देखि अधिकतम २४ लाख इकाईसम्मका लागि आवेदन दिनसक्ने व्यवस्था गरिएको छ । 

प्रति इकाई १० रुपैयाँ मूल्यको कुल १२ करोड इकाईमध्ये १.८ करोड इकाई सिद्धार्थ बैंकका लागि र १० करोड २० लाख इकाई सर्वसाधारणका लागि छुट्याइएको छ । 

इच्छुक लगानीकर्ताले सिद्धार्थ क्यापिटलको मुख्य कार्यालय, सिद्धार्थ बैंकका सबै शाखा कार्यालय तथा आस्वा सेवा संचालनको अनुमति प्राप्त सबै बैंक तथा बित्तीय संस्था तथा तिनका शाखा कार्यालयहरुबाट आवेदन दिनसक्ने व्यवस्था मिलाइएको छ ।