काठमाण्डौ । दशैंको रमझममै लगानीकर्ता फस्दा सेयर बजार भने सुस्ताएको छ । दशैं विदापछि पहिलोपटक खुलेको बजार आइतबार राताम्मे भएको हो । 

दोहोरो अंकले नेप्से घट्दा कारोबार रकम पनि निकै कम मात्र भयो । 

लगानीकर्ताहरु दशैं विदा सकाएर राजधानी फर्कने क्रममै रहेकाका कारण समेत दशैं विदापछिको बजारमा रातोको बोलवाला चलेको विश्लेषकहरुले बताएका छन् । 

आइतबार नेप्से परिसूचक १६.१४ अंकले घट्यो भने सबै समूहको परिसूचकमा रातो पोतियो । 

१५.४८ अंकले घटे पनि वाणिज्य बैंकले कुल कारोबारको ५० प्रतिशत बढीको हिस्सा ओगट्यो । बजारमा कुल ६० करोडको कारोबार हुँदा वाणिज्य बैंक समूहको मात्रै ३६ करोड भन्दा बढीको कारोबार भयो । 

होटल समूहमा ७२.३६ अंकको पहिरो गयो भने विकास बैंकमा ९.६८, बित्त समूहमा ५.२७, जलविद्युतमा १८.६७, बिमामा ८१.४६ र अन्य समूहमा ११.८६ अंकको गिरावट देखियो । 

बिमा समूहको कुल १३ करोड तथा विकास बैंक समूहको ६ करोड बढीको सेयर किनबेच भयो । 

बजारमा कुल १ सय २२ कम्पनीका ७ लाख ६७ हजार ५ सय ४४ कित्ता सेयर कारोबार भयो । 

धेरै कारोबार गर्ने कम्पनी
आइतबार बजारमा पहिरो जाँदा समेत कुमारी बैंकको सेयरमा विशेष आकर्षण देखियो । यो बैंकले १७ करोड बढीको कारोबार गर्न सफल भयो । प्रभू इन्स्योरेन्सले ५ करोड २९ लाखको कारोबार गर्दा बैंक अफ काठमाण्डू लुम्बिनी लिमीटेडले ४ करोड ४६ लाखको कारोबार गर्यो । एभरेष्ट बैंक लिमीटेडले २ करोड ३८ लाख, ज्योति विकास बैंक लिमीटेडले २ करोड १५ लाख, शिखर इन्स्योरेन्सले २ करोड २ लाख बराबरको कारोबार गरे । 

धेरै कारोबार गर्ने टप १० कम्पनीको सूचिमा ६ स्थान वाणिज्य बैंकको कब्जामा रह्यो भने ३ स्थानमा बिमा र १ स्थानमा विकास बैंक समूह सीमित हुन पुगे । 

धेरै कमाउने र गुमाउने कम्पनी
बजारमा पहिरो गए पनि आइतबार ज्योति विकास बैंकका लगानीकर्ताले पैसा छापे । यो बैंकको सेयर मूल्य ९.८९ प्रतिशतले वृद्धि भयो । यस्तै, कामना विकास बैंकको सेयर मूल्य ७.२७ प्रतिशतले बढ्यो । 

आइतबार सबैभन्दा धेरै पूर्णिमा विकास बैंक लिमीटेडका लगानीकर्ताले गुमाए । यो कम्पनीको सेयर मूल्यमा ४.३७ प्रतिशतले बढ्यो । प्रभू इन्स्योरेन्सको सेयर मूल्यमा समेत ४ प्रतिशतको गिरावट आयो । नेपाल ग्रामीण विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक लिमीटेडको सेयर मूल्यमा पनि ४ प्रतिशतकै हाराहारीमा गिरावट आयो ।