काठमाण्डौ । दैनिकको सुस्त गतिका कारण सेयर बजारको चहलपहल हराउन थालेको छ । सेयर कारोबारको सहजीकरणका लागि स्थापित ब्रोकर अफिसहरुमा समेत लगानीकर्ताहरुको संख्या न्यून देखिन थालेको छ। 

दैनिकजसोको बजारको गिरावटका कारण अधिकांश लगानीकर्ता ब्रोकर अफिस जान छाडेका छन् । बल्लतल्ल ब्रोकरमा पुगेका लगानीकर्ता समेत निराश मुद्रामा भेटिन्छन् ।

बुधबार केही ब्रोकर अफिसमा एकदुई जना लगानीकर्ता मात्र भेटिए । भेटिएका लगानीकर्तामा समेत बजारप्रति कुनै चासो देखिएन । कतिपय ब्रोकर कार्यालयमा डिस्प्लेअगाडि मस्तले निदाइरहेका लगानीकर्ता समेत भेटिए । 

ब्रोकर अफिसहरु खालि हुँदै गर्दा नेप्से परिसूचक ३.५ अंकले घटेर १२७२.४८ को विन्दूमा सीमित हुन पुग्यो । कारोबार रकम अघिल्लो दिन भन्दा न्यून बढी ५० करोड पुग्यो । 

यो दिन बजारका ३ समूहको सूचकमा झिनो बढोत्तरी भएको छ भने बाँकी सबै समूहको सूचकमा रातो पोतिएको छ । 

ट्रेडिङ समूह ११.७ अंकले बढ्यो भने होटल समूह ६.९५ अंक र अन्य समूह १.९६ अंकले बढे । 

यो दिन बैंकिङ समूह ३.०२ अंकले घट्यो भने विकास बैंक समूहमा ४.६४ अंक, वित्त समूह १.४३ अंक, माइक्रोफाइनान्स ७.५६ अंक, म्युचुअल फण्ड समूहमा ०.१५ अंकको गिरावट देखियो । 

जीवन बिमा समूह २७.३४ अंकले घटेको यो दिन निर्जीवन बिमा समूहमा ६१.३४ अंक, जलविद्युत समूह ३.५६ अंक, उत्पादन तथा प्रशोधन समूह २.७४ अंकले घटेको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १७४ कम्पनीका १८ लाख ७१ हजार ८०९ कित्ता सेयर ५० करोड २६ लाख ८२ हजार ८८१ रुपैयाँमा किनबेच भएको छ । 

ग्लोबल आइएमई बैंकको ७ करोड १२ लाख बढीको संस्थापक सेयर किनबेच भएको यो दिन शिवम सिमेन्टले ४ करोड २५ लाख रुपैयाँ, प्रभू बैंकले २ करोड १३ लाख, एनसीसी बैंकले १ करोड ५९ लाख, एनआइसी एशियाले १ करोड ५३ लाख, मेगा बैंकले १ करोड २८ लाख, नेपाल बैंकले १ करोड १८ लाख, सिद्धार्थ इन्स्योरेन्सले १ करोड ९ लाख बढीको कारोबार गरे । 

नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोड ८ लाख बढीको संस्थापक सेयरको किनबेच भएको बजारमा कामना सेवा विकास बैंकको पनि १ करोड ६ लाख बढीको संस्थापक सेयर किनबेच भयो । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्यमा पोजिटिभ सर्किट लाग्यो । 

नेपाल हाइड्रो डेभलपर्स लिमीटेडका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ७.०९ प्रतिशतले घट्यो ।