काठमाण्डौ। अर्थमन्त्री डा प्रकाशशरण महतले वैशाखमा लगानी सम्मेलन आयोजना हुनु अगावै कन्ट्री रेटिङको प्रक्रिया सम्पन्न गर्ने बताएका छन् ।  

सोमबार अर्थ मन्त्रालयमा आयोजित विभिन्न विकास साझेदारलाई लगानी सम्मेलनका विषयमा जानकारी दिन आयोजित छलफलमा उनले वैशाखअघि नै कन्ट्री रेटिङ गरिसक्ने बताएका हुन् ।

उनले नेपालमा लगानी गर्न आवश्यक पर्ने सबै खालका नीतिगत ऐन नियमहरु परिमार्जन गर्न सरकारले प्रमुख प्राथमिकता दिने पनि बताए । उनले काम गर्ने प्रक्रियागत झन्झट, काम गर्ने कार्यशैली सम्मेलन अगावै परिवर्तन हुने पनि उल्लेख गरे । 

अर्थमन्त्री महतले सरकारले निजी क्षेत्रको लगानी ल्याउन कठिन भएपनि लगानी भित्र्याउन सहजिकरण गर्न प्रतिबद्ध रहेको बताए । उनले सम्पत्ति शुद्धीकरणसम्बन्धी बलियो कानून बनाउनुपर्ने र अन्य कानूनमा पनि सुधार गर्नुपर्ने आवश्यकता रहेको भन्दै त्यसका लागि पनि सरकार प्रतिबद्ध रहेको बताए । 

अर्थमन्त्री महतले लगानी सम्मेलनमा निजी क्षेत्रलाई आकर्षित गर्ने मुख्य उद्देश्य रहेको बताए । उनले वैदेशिक लगानीका लागि नेपाल सबै भन्दा उपयुक्त रहेको दाबी गरे ।

उनले नेपालमा जलविद्युत, पर्यटन, सफ्टवेयर लगायतका क्षेत्रमा लगानी गरेर नाफा कमाउने सम्भावना रहेको बताए ।अर्थमन्त्री महतले लगानी भित्र्याउनको लागि सरकार नीति र कानूनमार्फत सहयोग गरेर नेपालमा लगानी गर्ने कम्पनीलाई नाफा कमाउने अवसर सिर्जना गर्न तयार रहेको बताए ।