काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार लुघवित्त कम्पनीहरुको सेयर किनबेचमा आकर्षण देखिएको छ । केन्द्रीय बैंकले लघुवित्त कम्पनीहरुको पूँजीवृद्धिको नीति आगामी मौद्रिक नीतिबाट ल्याउन लागेको हल्लासँगै त्यस्ता कम्पनीले हकप्रद र बोनस सेयर दिने लोभमा लगानीकर्ता त्यसतर्फ झुम्मिएका हुन् । 

लघुवित्तका लगानीकर्ता मालामाल बन्द बिमा कम्पनीमा भने सबैभन्दा ठूलो तेहेरो अंकको गिरावट देखिएको छ । 

विकास बैंकले नेतृत्व गरेको पूँजीबजार परिसूचक(नेप्से परिसूचक) ४.०३ अंकले करेक्सन भई १७१९.२० अंकमा झरेको छ । 

आइतबार विकास बैंक समूहको परिसूचक सबैभन्दा बढी ६६.८९ अंकले उक्लिएको छ भने बिमा समूहको परिसूचक २२३.९५ अंकले तल झरेको छ । बित्त कम्पनीले विकास बैंकलाई पछ्याउँदै २९.७३ अंकको बढोत्तरी हासिल गरेको छ भने होटल समूह १.५१ र अन्य समूह ४.६९ अंकले बढेको छ । 

अघिल्लो साता लगानीकर्ताको आकर्षणको केन्द्र बनेका बिमा, वाणिज्य बैंक र जलविद्युत तीनैवटा समूह ओरालो लागेको छ । वाणिज्य बंैक समूहको सूचक १३.८६ अंकले घट्यो भने जलविद्युत समूहमा ७.५८ अंकको गिरावट देखियो । आइतबार सेन्सेटिभ र फ्लोट इण्डेक्स क्रमशः १.२ र ०.२५ अंकले घट्यो । 

नेप्से परिसूचकमा सामान्य करेक्सन भए पनि आइतबार कारोबार रकम भने बढेको छ । १ सय ३७ कम्पनीका २० लाख ८३ हजार ३ सय कित्ता सेयर १ अर्ब ८५ करोड २४ लाख ५२ हजार रुपैयाँमा किनबेच भएको छ । 

आइतबार सबैभन्दा बढी राष्ट्रिय विमा कम्पनी लिमीटेडको १० करोड ९ लाख बराबरको प्रोमोटर सेयर किनबेच भयो । नेपाल लाइफ इन्स्योरेन्सले ९ करोड ५८ लाख, फस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले ८ करोड ४१ लाख, रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरले ८ करोड ३५ लाखको कारोबार गरे । यसैगरी, नेशनल लाइफको ६ करोड ८७ लाख, डिप्रोक्स डेभलपमेन्ट बैंक लिमीटेडको ६ करोड ५५ लाखको सेयर किनबेच भयो । 

आइतबार नेपाल लाइफ इन्स्योरेन्सको प्रोमोटर सेयरधनी, एनआइडीसी क्यापिटल मार्केट लिमीटेड, नयाँ नेपाल लघुवित्त विकास बैंक, मिथिला लघुवित्त विकास बैंक, अरनीको डेभलपमेन्ट बैंक लिमीटेड, फस्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक लिमीटेड, महिला सहयात्रा माइक्रो फाइनान्स बित्तीय संस्था, नेरुडे लघुवित्त विकास बैंक, राष्टिय बिमा कम्पनी लिमीटेडको प्रोमोटर सेयरको मूल्य १० प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । 

सबैभन्दा बढी गुमाउने कम्पनीहरुमा साझा विकास बैंक, हामा मर्चेन्ट एण्ड फाइनान्स, नेपाल लाइफ इन्स्योरेन्सका साधारण सेयर, भागर्व विकास बैंक,आइसीएफसी फाइनान्स लगायत छन् ।