काठमाण्डौ । चिसिँदै गरेको वातावरणमा सेयर लगानीकर्ताहरुको बजारप्रति मनोबल बढ्दै जाँदा यतिबेला सेयरबजार तातिएको छ ।

सूचीकृत कम्पनीका बम्पर लाभांश र लघुवित्त समूहमा लगानीकर्ताहरुको आकर्षण चुलिँदै जाँदा सेयरबजार हरियाली भएको छ । बजार बुलिस बन्ने संकेत पाएसँगै लगानीकर्ताहरुले खरिदारी चाप बढाउँदा कारोबार रकममा समेत आधा अर्ब बढी नाघेको छ । लघुवित्त समूहले उकासेको सेयरबजारमा केही दिनयता राम्रो लाभांश र बलिया कम्पनीहरुमा लगानीकर्ताहरु झुम्मिन थालेका छन् ।

नेप्से सूचकांकमा दिनहुँ भइरहेको बढोत्तरीलाई अर्गानिक बढाईको संज्ञा विश्लेषकहरु दिन्छन् । उनीहरु भन्छन्, ‘यो मार्केट बियरिसको अवसानसँगै बुलिसको आगमन हुन थालेको राम्रो संकेत हो । यही बढाईको गतिले नै बजारलाई बुलिसतिर लैजान्छ ।’

आजको दिन नेप्से सूचकांक हिजोको तुलनामा १०.११ अंकले वृद्धि हुँदा सेन्सेटिभ इन्डेक्स १.६९ अंकको वृद्धिसँगै २५५.१९ कायम भयो ।

आजको दिन नेप्सेमा सूचीकृतमध्ये १७३ कम्पनीका २० लाख ४३ हजार ६०५ कित्ता सेयर ५५ करोड १३ लाख ७७ हजार ८५२ रुपैयाँको कारोबार भयो ।

यस दिन नेप्सेमा रहेका १२ वटा उपसमूहमध्ये एउटामा बाहेक सबैमा हरियाली छाएको छ । यो जीवन बिमा र निर्जीवन बिमा कम्पनीमा बढी बढोत्तरी भयो । दुवै उपसमूह क्रमशः ११३.१३ र ७९.२८ अंकले बढ्यो ।

यसैगरी बैंकिङ, व्यापार, होटेल्स, विकास बैंक, जलविद्युत्, वित्त, अन्य, लघुवित्त र म्युचुअल फन्डमा क्रमशः ४.२७, २९.५६, २२.७९, १६.८, ६.२, ६.२४, ५.१४, ५७.०८ र ०.०२ अंकले बढोत्तरी भयो ।

यो दिन उत्पादन तथा प्रशोधन उपसमूहमा ३०.३२ अंकले गिरावट आयो ।

सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरु

यस दिन १० वटै कम्पनीहरुले करोडभन्दा माथि कारोबार गरेका छन् । सबैभन्दा बढी नेपाल बंगलादेश बैंकको संस्थापक सेयरले ६ करोड ४१ लाख रुपैयाँबराबरको कारोबार गर्यो । त्यस्तै नेपाल बैंक, लुम्बिनी विकास बैंक, एनएमबी बैंक, डिप्रोक्स लघुवित्तले क्रमशः ३ करोड ६ लाख, २ करोड ८७ लाख, २ करोड ७२ लाख र २ करोड २ लाख रुपैयाँबराबरको कारोबार गरे ।

यसैगरी साना किसान लघुवित्त, प्रभु बैंक, ग्रामीण विकास लघुवित्त, स्वावलम्बन लघुवित्त र नेपाल बंगलादेश बैंकले क्रमशः १ करोड ४१ लाख, १ करोड ३६ लाख, १ करोड २७ लाख, १ करोड ७ लाख र १ करोड ५ लाख रुपैयाँबराबरको कारोबार गर्न सफल भए । 

सबैभन्दा धेरै कमाउने र गुमाउने

आजको दिन सबैभन्दा धेरै कमाउने १० कम्पनीमध्ये ८ वटा लघुवित्त कम्पनीहरु रहेका छन् । आजको दिन नेपाल सेवा लघुवित्त, डिप्रोक्स लघुवित्त, युनाइटेड इन्स्योरेन्स, गणपति माइक्रोफाइनान्स र नयाँ नेपाल लघुवित्तका सेयरधनीहरु मालामाल भएका छन् । यी कम्पनीहरुका सेयरमूल्यमा झन्डै १० प्रतिशतको हाराहारीमा वृद्धि भयो ।

त्यस्तै माहुल सामुदायिक, एसटीसी, स्पर्श लघुवित्त, नाडेप लघुवित्त र मेरो माइक्रोफाइनान्स कम्पनीका सेयरधनीहरुले पनि बढी कमाएका छन् । यी सबै कम्पनीका सेयरमूल्यमा ७ प्रतिशतदेखि ८ प्रतिशतसम्म बढोत्तरी भएको छ ।

आजको दिन युनिलिभर नेपाल, युनिलिभर पावर कम्पनी र नेपाल बंगलादेश बैंकको संस्थापक सेयरमा ३ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।