काठमाण्डौ । ठूला चाडपर्वको रौनकका कारण सुस्ताएको बजार लयमा फर्किन खोजे पनि त्यसका लागि भरपर्दो आडभरोसा भने अझै बनिसकेको छैन । बजारको सुधार गर्ने, कतिपय अन्यौलपूर्ण व्यवस्थाहरुमा आमूल परिवर्तन गर्ने र समग्रमा लगानीकर्ताहरुको खस्किएको मनोबल उकास्ने विषयमा भरपर्दा र विश्वासिला काम हुन सकेका छैनन् । जसको फलस्वरुप कहिलेकाही लयमा फर्किन खोजेको बजार समेत लामो समयसम्म नबढी फेरि गिरावटको भूंग्रोमा पर्दै आएको छ । 

यसैगरी तिहारको पूर्वसन्ध्यामा बुधबार बढेको बजारले लयमा फर्किने संकेत गरे पनि यसका भरपर्दा आधार भने छैन । यसकारण आजको बजारको बढोत्तरीबाट धेरै उत्साहित हुनुपर्ने अवस्था देखिन्न । 

बुधबार नेप्से परिसूचक ७.७९ अंकले बढेर ११४२.६० को विन्दूमा फर्किएको छ । यो दिन राम्रा र बलिया कम्पनीको सेयरमा खरीद चाप देखिएका कारण सेन्सेटिभ इण्डेक्स १.६८ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.६१ अंकको बढोत्तरी भएको छ । 

यो दिन बजारका सबै समूहको उपसूचकमा हरियाली छाएको छ । बैंकिङ समूह ६.६ अंकले बढेको यो दिन विकास बैंक समूहमा ७.६३ अंक, जीवन बिमा समूहमा ४८.२८ अंक, निर्जीवन बिमा समूहमा ९.७७ अंक, होटल समूहमा २१.५१ अंक, जलविद्युत समूहमा १६.३ अंक, बित्त समूहमा ३.५१ अंक, माइक्रोफाइनान्स समूहमा ८.३९ अंक, उत्पादन तथा प्रशोधन समूहमा ०.१८ अंक र म्युचुअल फण्ड समूहमा ०.१ अंकको बढोत्तरी भएको छ । 

धेरै कारोबार गर्ने कम्पनीमा
यो दिन नेप्से परिसूचक बढे पनि कारोबार रकममा पनि सुधार हुन सकेन । यो दिन बजारमा १५३ कम्पनीका ६ लाख ४ हजार ७२८ कित्ता सेयर १६ करोड ३७ लाख ५७ हजार ८४७ रुपैयाँमा किनबेच भएको छ। 

यो दिन प्रभू बैंकले सबैभन्दा बढी २ करोड ७२ लाख बढीको कारोबार गरेको छ । 

एनआइसी एशिया बैंकले १ करोड ४६ लाख बढीको कारोबार गरेको यो दिन एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाले ६३ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ५० लाख, नेपाल लाइफ इन्स्योरेन्सले ४९ लाख, रसुवागढी जलविद्युत आयोजनाले  ४५ लाख, अपर तामाकोशीले ४३ लाख, नेपाल बैंकले ४१ लाख, सोल्टी होटलले ३९ लाख र बैंक अफ काठमाण्डूले ३५ लाख बढीको कारोबार गरेको छ । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन चारवटा कम्पनीका लगानीकर्ताले ६ प्रतिशतको हाराहारीमा सम्पत्ति बढाए । नेको इन्स्योरेन्स, हिमालयन पावर पार्टनर लिमीटेड, सेन्ट्रल फाइनान्स र सिनर्जी पावर डेभलपमेन्ट लिमीटेडको सेयर मूल्य ६ प्रतिशतको हाराहारीमा बढेको हो ।

दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ५.३५ प्रतिशतले घट्यो ।