काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नयाँ इन्डेक्स ‘नेप्से–३०’लाई लाइभ मार्केटमै कनेक्ट गरेर परीक्षण सुरु गरेको छ। 

केही दिनदेखि आन्तरिक परीक्षण भइरहेको नेप्से–३०को हिजो साउन ९ गतेबाट भने नेप्सेको लाइभ मार्केटमै कनेक्ट गरेर परीक्षण सुरु भएको हो। ‘लाइभ डाटामै छनौट भएका ३० वटा कम्पनीहरुको कारोबार परीक्षण सुरु गरिएको हो’, नेप्सेका एक अधिकारीले भने, ‘यसअघि लाइभ डाटामै कनेक्ट नगरी आन्तरिक परीक्षण भइरहेको थियो। अब लाइभ डाटामै कनेक्ट गरेर परीक्षण भइरहेको छ।’

ती अधिकारीका अनुसार यसअघिको चलेको आन्तरिक परीक्षणमा नेप्से–३० इन्डेक्समा कुनै समस्या देखिएन। ‘अब लाइभ मार्केटमा पनि कुनै समस्या देखिएन भने नेप्से–३० साउनको अन्त्यसम्म सञ्चालनमा आउन सक्छ’, ती अधिकारीले भने। 

नेप्से सञ्चालक समितिको गत असार २० गते बसेको बैठकले नेप्से–३० इन्डेक्सको आन्तरिक परीक्षण सुरु गर्ने निर्णय गरेको थियो। सोही निर्णयबमोजिम नेप्सेले हाल नेप्से–३०को सञ्चालनमा ल्याउन तीव्रगतिमा काम अगाडि बढाइरहेको छ।