काठमाण्डौ । पूँजीगत लाभकरको अन्यौल हट्न नसकेका कारण बजारमा बिहीबार दोहोरो अंकको पहिरो गएको छ । हकप्रद र बोनस सेयरको आधारमूल्यकै लाभकर लगाउने आन्तरिक राजश्वको सर्कुलर तत्कालका लागि स्थगित गर्न लगानीकर्ता सफल भए पनि सो करको अन्यौल चिर्ने काम नहुँदा लगानीकर्ताहरुको आत्मविश्वास माथि उठ्न नसकेको हो । 

पूँजीगत लाभकरको बिषयमा आन्तरिक राजश्वको सर्कुलर स्थगित भएको छ र यसलाई कुन मोडेलमा कार्यान्वयन गराउने भन्ने बिषयको निक्र्यौल अर्थमन्त्रालयबाट गठित अध्ययन समितिको सुझावको आधारमा गरिनेछ । यसर्थ आन्तरिक राजश्वको सर्कुलर पूर्ण रुपमा खारेज नभएका कारण भोलिका दिनमा करको भार कुनै न कुनै रुपमा फेरि व्यहोर्नुपर्ने हो कि भन्ने सशंय लगानीकर्तामा रहेको देखिएको छ । 

यहीकारण साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचकमा २५.६८ अंकको पहिरो गएको छ भने ४७ करोडको हाराहारीमा कारोबार भएको छ । 

यो दिन ‘क’ वर्गका कम्पनीहरुको सेयर बिक्रीमा चाप परेको देखिएको छ । यहीकारण सेन्सेटिभ इण्डेक्स ५.४७ अंकले घटेको छ । यस्तै, समग्र कारोबार मापक फ्लोट इण्डेक्स पनि यो दिन १.८३ अंकले घटेको छ । 

यो दिन बजारका सबै समूहको सूचक घटेका छन् । बिमा समूहको सूचक १७४.७६ अंकले घटेको छ भने जलविद्युत समूह ३५.५९, माइक्रोफाइनान्स समूह ३५.५४, विकास बैंक समूह २४.४५, बैंकिङ समूह  २०.७५ अंकले घटेका छन् । होटल समूहमा ३९.३९ अंकको गिरावट आएको छ भने बित्त समूह ५.६६ अंक, उत्पादनमूलक १६.८ र अन्य समूह १४.७८ अंकले घटेका छन् । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६६ कम्पनीका १४ लाख ४१ हजार २ सय ७७ कित्ता सेयर ४६ करोड ८५ लाख ६० हजार ३ सय ४९ रुपैयाँमा किनबेच भएको छ । 

सबैभन्दा बढी मेगा बैंक लिमीटेडले २ करोड ७ लाख बढीको कारोबार गरेको छ । यस्नै, नेपाल इन्भेष्टमेन्ट बैंकले १ करोड ९८ लाखको कारोबार गरेको बजारमा सांग्रीला डेभलपमेन्ट बैंकको १ करोड ८९ लाख बढीको संस्थापक सेयर समेत किनबेच भएको छ।

नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ५१ लाख, सिभिल बैंकले १ करोड ४३ लाख, सानिमा बैंकले १ करोड ३८ लाख, साना किसान विकास बैंकले १ करोड १७ लाख बढीको कारोबार गरेका छन् । राष्ट्रिय बिमा कम्पनीको १ करोड १४ लाख बढीको संस्थापक सेयरको कारोबार भएको बजारमा सांग्रीला विकास बैंकको १ करोड १२ लाख बढीको साधारण सेयरको समेत कारोबार भएको छ । यो दिन शिखर इन्स्योरेन्सले समेत १ करोड ११ लाख बढीको कारोबार गरेको छ । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन समता माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी कमाए । यो कम्पनीको सेयर मूल्य ४ प्रतिशतको हाराहारीमा वृद्धि भयो । अरुण भ्याली हाइडोपावर कम्पनीको मूल्य ३.०७ प्रतिशतले बढ्यो । 

बिहीबार नागबेली लघुवित्त विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ८ प्रतिशतको हाराहारीमा घट्यो ।