काठमाण्डौ । आर्थिक वर्ष २०७३/७४ को नाफाबाट कम्पनीहरुले धमाधम लाभांशको घोषणा गर्न थालेपछि त्यसलाई सुरक्षित गर्न लगानीकर्ताको दौडधूप चलेसँगै बजारमा बहार आएको छ । 

साताको पहिलो दिन ४.५१ अंकले बजार परिसूचक(नेप्से) बढेको छ भने कारोबार रकममा निकै ठूलो वृद्धि भएको छ । राम्रो लाभांश घोषणा गर्ने कम्पनीको सेयर खरीदका लागि तँछाडमछाड चल्दा केही कम्पनीको मूल्य निकै राम्रो बढोत्तरी भएको छ भने त्यस्ता कम्पनीहरुले कारोबारमा समेत अरुलाई उछिनेका छन् । 

कसको कति कारोबार ?
आइतबार बिहानै नवील
बैंक लिमीटेडले गत आर्थिक वर्षको नाफाबाट ३० प्रतिशत बोनस सेयर र १८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव भदौ ९ गतेको संचालक समिति बैठकले पारित गरेको समाचार सनसनी भएसँगै यो लाभांश सुरक्षित गर्न बैंकको सेयर खरीदमा होड चल्यो । यहीकारण यो कम्पनीको सेयर मूल्य २ प्रतिशतभन्दा बढी वृद्धि भयो भने ५ करोड ५३ लाख बढीको कारोबार भयो । नवील बैंकको संस्थापक समूहको सेयरमा समेत उस्तै आकर्षण देखियो । संस्थापक समूहको सेयरको मात्रै २ करोड ३९ बढीको कारोबार भयो । सर्वसाधारण र संस्थापक समूहतर्फको सेयर गरी यो बैंकले एकैदिन ८ करोड बढीको कारोबार गर्यो । 

यस्तै, केही दिनअघि १६ प्रतिशत लाभांश घोषणा गरेको सिटिजन्स बैंक इन्टरनेशनल पनि लगानीकर्ताको रोजाईमा पर्यो । यो कम्पनीले आइतबार ४ करोड २७ लाख बढीको कारोबार गर्यो । यो कम्पनीको बोनस सुरक्षित गर्ने आइतबार नै अन्तिम दिन थियो । 

यो दिन धेरै कारोबार गर्ने कम्पनीमा प्राइम लाइफ इन्स्योरेन्स, एनआइसी एशिया बैंक  र स्ट्याण्डर्ड चार्टर्ड पनि अगाडि देखिए । प्राइम लाइफले ४ करोड २६ लाख, एनआइसी एशियाले २ करोड ९५ लाख, स्ट्याण्डर्ड चार्टर्डले २ करोड ७० लाख, आरएसडिसी लघुवित्तले २ करोड ४९ लाख बढीको कारोबार गरे । जनता बैंक नेपालले २ करोड २५ लाख, हिमालयन पावर पार्टनरले २ करोड २० लाख र नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ८४ लाख बढीको कारोबार गरे । 

यो दिन १ सय ६५ कम्पनीका २७ लाख २६ हजार ८२ कित्ता सेयर ८१ करोड ५१ लाख बढीमा किनबेच भए । 

बैंकमा हरियाली, बिमामा निराशा !
साताको पहिलो कारोबार दिन बैकिङ  र विकास बैंक समूहमा हरियाली छायो । बैकिङ समूह ७.१४ र विकास बैंक समूह १२.१२ अंकले उक्लिए । यस्तै, होटल समूह ६.२७, जलविद्युत समूह ११.४५ र उत्पादनमूलक ३२.१६ अंकले बढे । बिमा समूह भने ३४.१९ अंकले घट्यो । यस्तै, बित्त समूह १.३ र अन्य समूह ६.३६ अंकले घट्यो । 

‘क’ वर्गको कारोबार सुध्रदा सेन्सेटिभ इण्डेक्समा ०.८ अंकको वृद्धि भयो भने समग्र कारोबारमा समेत सुधार आउँदा फ्लोट इण्डेक्स ०.४३ अंकले बढ्यो । 

पाँच कम्पनी मालामाल
बजारमा बहार देखिएकै दिन ५ कम्पनीका लगानीकर्ता मालामाल भए । सिर्जना फाइनान्स बित्तीय संस्था, हिमालयन पावर पार्टनर लिमीटेड, स्वरोजगार लघुवित्त विकास बैंक, समीट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक र हिमालयन डिस्टीलरीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । यी पाँच कम्पनीमध्ये स्वरोजगार लघुवित्तले आइतबार मात्रै २५ प्रतिशत सेयर लाभांश र सतप्रतिशत हकप्रद बिक्रीको भदौ ९ गतेको संचालक समितिको निर्णय सार्वजनिक गरेको थियो । त्यही प्रभावले यो कम्पनीले कुस्त कमाएको देखिएको छ । 

तीन कम्पनीको बेहाल
यो दिन तीन कम्पनीको भने बेहाल भएको छ । नबील बैंकका कारण बजार हराभरा भए पनि उसको सहायक कम्पनी नवील इन्भेष्टमेन्ट बैकिङ लिमीटेडले प्रवद्र्धन गरेको नबील ब्यालेन्स फण्डको मूल्यमा भने पहिरो गयो । यो फण्डको मूल्य १०.०१ प्रतिशतले घट्न पुुग्यो । 

जनरल फाइनान्सका लगानीकर्ताले पनि १० प्रतिशतकै हाराहारीमा सम्पत्ति गुमाए । सिन्धुु विकास बैंकको सेयर मूल्य पनि ७.२० प्रतिशतले घट्न पुुग्यो ।