काठमाण्डौ । कम्पनीहरुले सेयरधनीलाई बाँड्ने नाफाको केही हिस्सालाई लाभांश भनिन्छ। तर, सेयरधनीलाई लाभांश (बोनस र नगद)  दिने वा नदिने कम्पनीको निर्णयमा भर पर्छ। 

लाभांश दिने अनिवार्य नियम बनाइएको छैन। तर, धेरैजसो कम्पनीहरुले नाफाबाट सेयरधनीहरुलाई लाभांश दिने गर्छन्। 

लाभांशबाट सेयरधनीलाई फाइदा हुन्छ भन्ने बुझिन्छ। तर, लाभांश दिएर कम्पनीलाई चाहिँ के फाइदा हुन्छ ? यस विषयमा सायद कमैले मात्र सोच्ने गरेका छन्। 

लाभांशबाट कम्पनीलाई प्रत्यक्ष लाभ हुँदैन। तर, प्रायः सबै कम्पनीले नाफामा सेयरधनीलाई पनि सेयर बाँड्छन्। कम्पनीहरुले आफ्नो संस्थाप्रतिको विश्वास कायम राख्न ती सेयरधनीलाई लाभांश बाँड्छन्। 

यस्तो अवस्थामा सेयरधनीलाई सेयरमा केही नोक्सानी भएमा उक्त घाटा लाभांशबाट पूर्ति हुन्छ। लाभांश पाउँदा लगानीकर्ता पनि कम्पनीमा जोडिरहन्छन् र उनीहरुको विश्वास पनि कम्पनीमा बनिरहन्छ। 

धेरैपटक कम्पनीहरुले सेयर घट्न नदिन वा सेयरधनीलाई आकर्षित गर्न लाभांश बाँड्ने गर्छन्। यसबाट आकर्षित भएर त्यो कम्पनीको सेयरमा बढीभन्दा बढी मानिसले लगानी गर्छन् र यसले कम्पनीको सेयरभाउ उकालो लाग्न थाल्छ। 

सेयर बजारमा अधिकांश लगानीकर्ताले अधिकतम लाभांश दिने कम्पनी खोजिरहेका हुन्छन्।