काठमाण्डौ ।  लिवर्टी इनर्जी कम्पनी लि. को सर्वसाधारणहरुको लागि बढीमा २,००,००० कित्ता सम्म दरखास्त दिन सकिने गरि ३५,६४,९३० कित्ता साधारण शेयरको निस्काशन तथा विक्री भोलि बुधबारदेखि खुल्ला  हुने भएको छ । साधारण शेयरको धितोपत्र निस्काशन तथा बिक्री प्रवन्धक एनआईबिएल एस क्यापिटल लि. रहेको छ । 

कम्पनीको हाल अधिकृत पुँजी १ अर्ब ५० करोड रुपैयाँ र चुक्ता पुँजी १ अर्ब १२ करोड ५० लाख रहेकोमा अधिकृत पुँजीको २५% का दरले सैतिस करोड पचास लाख बराबरको ३७,५०,००० कित्ता शेयर आयोजना प्रभावित स्थानीय तथा सर्वसाधारणहरुमा जारी गरी बाँडफाँड गरे पश्चात कम्पनीको चुक्ता पूँजी रु १ अर्व ५० करोड हुनेछ । 

कम्पनीले हाल निर्माण गरिरहेको २५ मे.वा. क्षमताको माथिल्लो दोर्दी “ए” जलविद्युत आयोजना लमजुङ जिल्ला स्थित दोर्दी गाँउपालिकामा अवस्थित छ । उक्त आयोजनाको हाल टनेल निर्माण तथा पेनस्टक पाईप राख्ने काम सम्पन्न भएको, हेडवक्र्स तथा डिसेण्डर र पावर हाउस तथा टेलरेसको सिभिल निर्माण कार्य समेत सम्पन्न भएको र पावर हाउसमा जडान गरिने आवश्यक इलेक्ट्रोमेकानिकल उपकरणहरु जडान कार्य अन्तिम चरणमा पुगेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको अगुवाईमा ९ वटा बैंक तथा वित्तिय संस्थाहरुको ऋण लगानी रहेको उक्त आयोजनाको कार्य हालसम्म करिब ९८% सम्पन्न भई आगामी कार्तिक मसान्त सम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जानकारी दिएको छ । विश्वव्यापी रुपमा कोरोना भाईरस महामारीको कारणले गर्दा विदेशबाट समयमै बाँकी केही उपकरणहरु तथा प्राविधिकहरु आयोजना निर्माण स्थलमा ल्याउन कठिनाई भएकोले यस आयोजनाको साविकको विद्युत उत्पादन गर्नुपर्ने गतवर्षको चैत्र मसान्तमा विद्युत उत्पादन सम्भव नभई आयोजनाको व्यापारिक उत्पादन गर्नुपर्ने आगामी कार्तिक मसान्तसम्म थप गरिने भएको कम्पनीको दाबी छ ।

यस आयोजनाको पानीको स्रोत दोर्दी खोला हिमनदी भएको र उपलब्ध पानी सिंचाई लगायत अन्य प्रयोजनमा प्रयोग नहुने भएकोले बहाव राम्रो रहेको छ । साथै आयोजनामा युरोपियन उत्पादकको इलेक्ट्रोमेकानिकल उपकरण प्रयोग तथा पावर हाउस सँगै रहेको सव–स्टेशनमा उत्पादित विद्युत जोडिने भएकोले प्रशारण नोक्सानी नहुने लगायतका कारणले यस आयोजना आकर्षक रहेको छ,कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 
कम्पनीले उल्लेखित आयोजना बाहेक बाग्लुङ जिल्लामा २४.६ मे.वा. क्षमताको बडिगाढ खोला जलविद्युत आयोजना र लमजुङ जिल्लामै १.६ मे.वा. क्षमताको लोदो खोला साना जलविद्युत आयोजनाको समेत सर्भेक्षण अनुमतिपत्र प्राप्त गरी आवश्यक सर्भेक्षण कार्य गरिरहेको कम्पनीको भनाइ छ ।