काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई पुर्वाग्रही ढंगले कारबाही गरेर भ्रष्टहरुको साम्राज्य खडा गर्न खोजिएको भन्दै सोमबार राजधानीमा सयौं सर्वसाधारण सडकमा उत्रिएका छन् ।

सोमबार पुरानो शतिm नेपालको अगुवाईमा सयौं सर्वसाधारणहरुले काठमाण्डौमा जुलुस निकालेका हुन् । उनीहरुले जुलुस निकाल्दै लोकमानसिंह कार्कीलाई फसाएर आफु पानीमाथिको ओभानो हुन खोज्ने नेताहरुले गरेको भ्रष्टाचार सम्बन्धी फाइल पनि खोलिनुपर्ने माग गरे । 

उनीहरुले काठमाण्डौबाट भ्रष्टहरुविरुद्ध निस्किन सुरु भएको जुलुस तथा उठेका विरोधका स्वरहरु अब देशव्यापी बन्ने उद्घोष समेत गरे ।  

काठमाडौँको माइतीघरबाट सुरु भएको जुलुसमा सहभागीहरुले ‘भ्रष्टाचार विरुद्धको आन्दोलन सफल पारौं’ लेखिएको ब्यानर र ‘लोकमान जनता तिम्रो साथमा छन् भ्रष्टहरुलाई कारबाही गर्न खुट्टा नकमाउ’ भन्ने नारा लेखिएका प्लेकार्ड समेत बोकेका थिए । जुलुसमा सहभागीहरुले प्रचण्ड र व्यापारी अजय सुमार्गीबीचको आर्थिक सम्बन्ध प्रष्ट पारिनुपर्ने, नेताले विदेशमा थुपारेको अबैध धन जफत हुनुपर्ने, सम्पत्ति छानबिन आयोग गठन हुनुपर्ने लगायतको माग पनि राखेका थिए । 

जुलुसलाई अधिवक्ता बालकृष्ण न्यौपाने, लेखक तथा विश्लेषक प्रेम कैदी लगायतले अगुवाई गरेका थिए । जुलुसपछि आयोजित कोणसभामा बोल्दै पूरानो शक्तिका कार्यकर्ताहरुले नेपालको सबैभन्दा भ्रष्टाचारी व्यक्ति पुष्पकमल दाहाल भएको भन्दै उनलाई फाँसी हुनुपर्ने माग गरे ।

'आफैलाई कारबाही हुने डरले नेताहरुले महाअभियोग प्रस्ताव ल्याइएका छन् । यो खारेज हुनुपर्छ र नेताहरु संलग्न भ्रष्टाचारका सबै फाइल खोलिनुपर्छ ।’ कोणसभालाई सम्बोधन गर्दै न्यौपानेले भने ’आफु भ्रष्टाचार गर्ने अनि आफु नाङ्गो हुने डरले लोकमान सिंह कार्कीलाइ फसाउने काम भएको छ । यसविरुद्ध जनता अब उठिसकेका छन्, काठमाण्डौको यो लहर अब देशव्यापी हुनेछ ।’

विश्लेषक तथा लेखक प्रेम कैदीले प्रधानमन्त्री प्रचण्ड देशकै ठुला भ्रष्ट भएका आरोप लगाउँदै लोकमानसिंह कार्कीलाई खुट्टा नकमाउन र महाअभियोगलाई छलेर पुनः अख्तियार फर्की ठुला भ्रष्टलाई नछाड्न आग्रह गरे । उनले जनता समेत भ्रष्टहरुलाई कारबाही हुनुपर्छ भन्ने पक्षमा रहेका र लोकमानले भ्रष्ट समाउँदा जनताको ठुलो समर्थन हुने बताए । नेता संलग्न भ्रष्टाचारका काण्डलाई दबाउनैका लागि लोकमानलाई तर्साउन खोजिएको भन्दै जनता साथमा रहेका र देशबाट राजनीतिक आडमा हुने भ्रष्टाचार अन्त भएरै छाड्ने उद्घोष गरे ।