काठमाण्डौ । विद्युत चुुहावटलाई रोकेर चमात्कारिक ढंगले काठमाण्डौलाई लोडसेडिङमुक्त गराएका र देशभर लोडसेडिङ घटाएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा शनिवार राजधानीमा वृहत प्रदर्शन हुँदैछ । 

लोडसेडिङमुक्त अभियानमा विद्युत चोरहरुको पर्दाफास गरेका र जनतालाई राहात दिएका कुलमानलाई पछिल्लो समय भ्रष्टहरुले लखेट्ने षड्यन्त्र गरेका भन्दै त्यसविरुद्ध समेत प्रदर्शन केन्द्रीत हुने आयोजक उज्यालो नेपाल र व्यवस्थापक विवेकशील नेपाली दलका अधिकारीहरुले बताएका छन् । 

भृकुुटीमण्डपबाट दिउँसो १ बजेबाट ‘भ्रष्टहरुको जालो तोड्दै लोडसेडिङको अन्त्य गरौँ, कमिसनखोरको पञ्जाबाट प्राधिकरण मुक्त गरौं’ भन्ने नारासहित जुलुस निस्किने छ ।  

भ्रष्टाचारविरुद्ध नाराबाजी गर्दै सुुरु हुने जुलुस खुलामञ्चमा जाने र त्यहाँ लोडसेडिङमुक्त भएको खुशियालीमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना हुने बताइएको छ । 

कुलमान घिसिङलाई प्रचण्ड नेतृत्वको सरकारले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेदेखि नै उनीविरुद्ध मोर्चाबन्दी हुँदै आएको छ । उनलाई सुुरुवातमै काम गर्न दिइएको थिएन । त्यसपछि काठमाण्डौलाई लोडसेडिङमुक्त गरेपछि प्राधिकरणका तीन संचालकले उनीविरुद्ध अख्तियारलाई प्रयोग गर्न खोजेका थिए । उर्जामन्त्री जनार्दन शर्माले तीन संचालकको असन्तुष्टि के विषयमा हो भन्न आफ्ना मान्छेलाई बुुझ्न पठाउँदा कमिसन मागेपछि उनीहरुलाई मन्त्रालयले स्पष्टीकरण सोधेको थियो । उनीहरु कारबाहीमा पर्दैछन् । तीन संचालकले स्पष्टीकरण दिइसकेपछिको अवस्थामा कुलमानको पक्षमा प्रदर्शन हुन लागेको हो ।