पोखरा । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठलाई समर्थन गर्ने महासंघ गण्डकी प्रदेशले सर्वसम्मतरुपमा समर्थन गर्ने निर्णय गरेको छ।

पोखरामा शनिबार बसेको प्रदेश समितिको बैठकले वरिष्ठ उपाध्यक्ष उमेदवार श्रेष्ठसहित प्रदेशबाट कार्यसमितिमा उमेदवारी दिने सम्पूर्ण उम्मेदवारलाई जिताउन सक्रिय भूमिका निर्वाह गर्ने सर्वसम्मत निर्णय गरेको हो। पोखरा उद्योग वाणिज्य संघको प्रस्तावमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार श्रेष्ठलाई प्रदेशबाट सर्वसम्मत रुपमा जिताउने निर्णय भएको हो। 

प्रदेश महासंघका अध्यक्ष अमृत भट्टचनको अध्यक्षतमा बसेको पहिलो बैठकबाट उक्त निर्णय गरियो। बैठकमा गण्डकी प्रदेश समितिका सम्पूर्ण सदस्यहरु, पोखरा उद्योग बाणिज्य संघका साथै लुम्बिनी प्रदेश र बागमती प्रदेशका केही जिल्ला नगरका अध्यक्षहरुको सहभागिता थियो।

सर्वसम्मत उम्मेदवार घोषणा भएसँगै वरिष्ठ उपाध्यक्षका प्रत्याशी श्रेष्ठले आफ्नो उमेदवारीलाई सबै सदस्यहरुले सर्वसम्मत रुपमा सहयोग गर्ने घोषणा गरेकोमा धन्यवाद दिए। श्रेष्ठले उद्योगीहरुको समस्या र चुनौतीहरुलाई समाधान गर्न आफू लागिपर्ने बताए। 

यही चैत २८ र २९ गते आयोजना हुने महासंघको आसन्न ५७ औँ वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ।