काठमाण्डौ । चाडपर्वको दौडधूप र लगानीकर्ता ‘पर्ख र हेर’को रणनीतिमा बस्दा बजार लगातार ओरालो लागिरहेको छ । यो क्रम सोमबार पनि जारी रह्यो । साताको दोश्रो कारोबार दिन १३.५ अंकले घटी नेप्से परिसूचक १७६८.८९ अंकमो झर्यो । 

आइतबार पनि नेप्से दोहोरो अंकमै घटेको थियो । सोमबार कारोबार रकम पनि घटेको छ । आइतबार ९६ करोड बढीको सेयर किनबेच भएकोमा सोमबार घटेर ९३ करोडको हाराहारीमा झरेको छ । 

‘क’ वर्गका कम्पनीको सेयरमा खरीदचाप खासै नदेखिँदा समेत नेप्से परिसूचक ओरालो लागेको देखिएको छ । यही कारण सोमबार पनि सेन्सेटिभ इण्डेक्स ३.११ अंकले घट्यो । 

सोमबार नेप्सेमा बित्त समूह बाहेक अन्य सबै समूह राताम्मे भए । वाणिज्य बैंक समूहमा १८.२६ अंकको पहिरो गयो भने होटलमा २४.३७, बिमामा ३८.५६, जलविद्युतमा १५.२८, विकास बैंकमा ६.३९ र अन्य समूहमा ४.०५ अंकको गिरावट आयो । 

बित्त समूहमा ४.८२ अंकको बढोत्तरी देखियो । 

कुल कारोबारको ५० प्रतिशत भन्दा बढी वाणिज्य बैंकले होल्ड गरे । बिक्रीको चापका कारण वाणिज्य बैंकहरुको ५० करोड बढीको सेयर कारोबार भयो । बिमा समूहले २८ करोड बढीको कारोबार गर्यो । 

धेरै कारोबार गर्ने कम्पनी
स्पष्ट चुक्तापूँजी वृद्धिको योजना सार्वजनिक गरेका कारण स्ट्याण्डर्ड चार्टर्ड बैंकमा लगानीकर्ताको आकर्षण केही थपियो । यही कारण यो बैंकले सबैभन्दा धेरै १० करोड ७७ लाखको कारोबार गर्यो । एभरेष्ट बैंकले ७ करोड ७१ लाख, लुम्बिनी जनरल इन्स्योरेन्सले ६ करोड ७६ लाख, माछापुच्छे बैंकले ३ करोड ८८ लाख, कुमारी बैंकले ३ करोड ८० लाखको कारोबार गरे । 

नेको इन्स्योरेन्सले ३ करोड ५३ लाख, शिखर इन्स्योरेन्सले ३ करोड ८ लाख, एनएमबी बैंकले ३ करोड, बैंक अफ काठमाण्डू लुम्बिनी लिमीटेडले २ करोड ५७ लाख र नेपाल लाइफले २ करोड ३१ लाखको सेयर कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
सोमबार सिर्जना फाइनान्स बित्तीय संस्थाका लगानीकर्ताले पैसा छापे । यो कम्पनीको सेयर मूल्यमा एकैदिन ३३२ प्रतिशतले वृद्धि भयो । आइतबार र अघिल्लो साता झै धेरै कमाउने कम्पनीको सूचिमा रिलायवल माइक्रो फाइनान्स बित्तीय संस्था र कामना विकास बैंक सोमबार पनि कायम रहे । रिलायवलको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो भने कामनाको सेयर मूल्यमा ५.२६ प्रतिशतको बढोत्तरी भयो । 

सोमबार ललितपुर फाइनान्स र सिनर्जी फाइनान्सका लगानीकर्ताले धेरै गुमाए । ललितपुर फाइनान्सको सेयर मूल्य ६.५३ प्रतिशतले घट्यो भने सिनर्जीको सेयर मूल्यमा ६.२५ प्रतिशतको गिरावट देखियो । पोखरा फाइनान्स लिमीटेडको लगानीकर्ताले पनि ५.१९ प्रतिशतले सम्पत्ति गुमाए ।