काठमाण्डौ । अघिल्लो साताको सुरुवातदेखि नै बुलिस ट्रेण्डमा कुदिरहेको बजारलाई यो साताको पहिलो र दोश्रो दिन नै वाणिज्य बैंकले उचालेका छन् । वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट धमाधम लाभांश घोषणा गर्न थालेपछि र राष्ट्रबैंकको चुक्तापूँजी ८ अर्ब पुर्याउने समय सीमा नजिकिदै जाँदा हकप्रदको बाढी ल्याएपछि लगानीकर्ताको रोजाई सो समूह बन्न पुगेको हो । 

सोमबार पनि वाणिज्य बैंकहरुमा लगानीकर्ता थुप्रिँदा यो समूहको योगदानका कारण नेप्से परिसूचक १९.०७ अंकले उक्लिदै १८३८.९० को उचाईमा पुगेको छ । यो दिन १० वटा वाणिज्य बैंकले ५ करोडभन्दा माथिको कारोबार गरे । 

सोमबार वाणिज्य बैंक समूह २६.७६ अंकले उक्लिएको छ । होटल समूहमा ४९.१६ अंकको बढोत्तरी देखिएको छ भने विकास बैंक र बित्त समूह क्रमशः ११.४२ र ६.१८ अंकले उक्लिएका छन् । जलविद्युत समूह २ दिनको गिरावटपछि हराभरा भई ७.९८ अंकले उक्लिएको छ । अन्य समूह १०.१२ अंकले उकालो लाग्दा बिमा र उत्पादनमूलक भने घटेका छन् । बिमा समूह ०.३८ अंकले तल पुग्दा उत्पादनमूलकमा ३३.६९ अंकको पहिरो गएको छ । 

क वर्गका वाणिज्य बैंकहरुको कारोबार बढेका कारण सेन्सेटिभ इण्डेक्स ४.४ अंकले उक्लिएको छ भने फ्लोट इण्डेक्समा १.४१ अंकको बढोत्तरी देखिएको छ । 

धेरै कारोबार गर्नेहरु
सोमबार धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा वाणिज्य बैंकहरुको एकछत्र कब्जा रह्यो । सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको २६ करोड ४८ लाख बराबरको सेयर किनबेच भयो । नेपाल बंगलादेश बैंकको १८ करोडको कारोबार भयो भने सिद्धार्थ बैंकले १० करोड बढीको कारोबार गर्यो । यसैगरी, सनराइज बैंकले ९ करोड २३ लाख, एभरेष्ट बैंकले ८ करोड ७८ लाख, एनएमबी बैंकले ७ करोड ७२ लाखको कारोबार गरे । सोमबार नेपाल इन्भेष्टमेन्ट बैंकको ७ करोड १३ लाख बराबरको प्रोमोटर सेयर किनबेच भयो भने माछापुच्छे बैंकले ५ करोड ५६ लाख, नेपाल बैंक लिमीटेडले ५ करोड २६ लाख र ग्लोबल आइएमई बैंकले ५ करोड ३ लाखको सेयर कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
सोमबार सबैभन्दा बढी सेञ्चुरी कमर्सियल बैंकका लगानीकर्ताले कमाएका छन् । यो बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सांग्रिला डेभलपमेन्ट बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, राप्तिभेरी विकास बैंक, कसमस डेभलपमेन्ट बैंकका लगानीकर्ताले पनि कुस्त कमाएका छन् । यी कम्पनीको सेयर मूल्यमा पनि १० प्रतिशतको हाराहारीमा बढोत्तरी भएको छ । यसैगरी, कर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि ९ प्रतिशतभन्दा केही बढीले वृद्धि भएको छ भने प्रोग्रेसिभ फाइनान्सको सेयर मूल्यमा करिब ९ प्रतिशतको वृद्धि देखिएको छ । 

सोमबार सबैभन्दा बढी बोटलर्स नेपाल(तराई) लिमीटेडका लगानीकर्ताले गुमाएका छन् । यो कम्पनीको सेयर मूल्य करिब ८ प्रतिशतले घटेको छ । सूर्य लाइफ इन्स्योरेन्स र ललितपुर फाइनान्सको सेयर मूल्यमा ३ प्रतिशत भन्दा बढीले गिरावट आयो ।