काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार वाणिज्य बैंक र बिमामा लगानीकर्ता थुप्रिएका छन् । यी दुई समूहमा बढेको अचाक्ली आकर्षणले समग्र पूँजीबजार परिसूचक(नेप्से) दोहोरो अंकले उक्लिएको छ भने कारोबार रकम पनि बढेको छ । 

विश्लेषकहरुले बजारमा खरीदको चाप बढ्दै गएको आइतबारको बुलिस बजारले देखाएको दाबी गरेका छन् । उनीहरुले असोज मसान्तमा तिर्नुपर्ने ब्याज र दशैंतिहार खर्चको जोहो लगानीकर्ताले गरिसकेका कारण अब आउँदा दिनमा समेत बिक्रीको भन्दा खरीदकै चाप बढी हुने बताएका छन । विश्लेषकहरुका अनुसार पछिल्लो समय लगानीकर्ताले छानी छानी लगानी गरेका छन् र राम्रा तथा ठूला कम्पनीको सेयरमा ह्वात्तै आकर्षण बढेको छ । 

आइतबार वाणिज्य बैंक र बिमा समूहले मात्र ७१ करोड भन्दा बढीको कारोबार गरे । अन्य समूहलाई छायाँमा पार्दै यी समूह बजारमा एकाएक चम्किएका हुन् । 

१०.४ अंकले बढेर नेप्से परिसूचक १७६३.७८ अंकको उचाईमा पुगेको छ । ८८ करोड ७० लाखको कुल कारोबारमा वाणिज्य बैंक समूहले मात्र ४७ करोड ३१ लाखको योगदान गर्यो । सबैभन्दा धेरै प्रतिशतले बढेको बिमा समूहको पनि २४ करोड बढीको कारोबार भयो । 

बिमा समूह २३७ अंकले बढेर ८९३८ अंकको उचाईमा पुगेको हो । 

वाणिज्य बैंक समूह ५.२२ अंकले बढेको छ भने अन्य समूह ६.३६ र बित्त समूह ०.०९ अंकले उक्लिएको छ । 
अन्य समूहमा रातो पोतिएको छ । जलविद्युत समूह १३.४१ अंकले ओरालो लाग्दा होटल र विकास बैंक समूह क्रमशः ८.५६ र ०.७७ अंकले घटे । 

'क' वर्गका कम्पनीको कारोबारमा सुधार आएका कारण सेन्सेटिभ इण्डेक्स २.४७ अंकले उक्लियो भने फ्लोट इण्डेक्स ०.७८ अंकले वृद्धि भयो । 

कुल १ सय ३५ कम्पनीको १० लाख २४ हजार १ सय १४ कित्ता सेयर किनबेच भयो । 

धेरै कारोबार गर्ने कम्पनी
आइतबार सबैभन्दा बढी शिखर इन्स्योरेन्सले ११ करोड ६७ लाख बराबरको कारोबार गर्यो । सनराइज बैंकले ९ करोड ४८ लाख, एनबी बैंकले ९ करोड ३ लाख, सिद्धार्थ बैंकले ८ करोड ४६ लाख, एभरेष्ट बैंकले ४ करोड २३ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ४ करोड २२ लाख, मुक्तिनाथ विकास बैंकले २ करोड ५७ लाख, एनएमबी बैंकले १ करोड ७० लाख, नेपाल एसबीआई बैंकले १ करोड ६५ लाख र नबील बैंकले १ करोड ६३ लाखको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने
बुलिस बजारमा आइतबार तीन कम्पनीले पैसा छापे । यी कम्पनीहरुले १० प्रतिशतको हाराहारीमा आफ्नो सेयर मूल्य बढाए । बैंक अफ काठमाण्डू लुम्बिनी लिमीटेड, ज्योति विकास बैंक, कुमारी बैंकको सेयर मूल्य १० प्रतिशतको हाराहारीले बढेको हो । कामना विकास बैंक लिमीटेडको सेयर मूल्यमा पनि ७.४३ प्रतिशतको वृद्धि देखिएको छ । 

बुलिस बजारमा आइतबार पनि गत बिहीबारको झै सबैभन्दा धेरै गुमाउनेमा निर्धन उत्थान बैंककै लगानीकर्ता परे । यो कम्पनीको सेयर मूल्य ९.२३ प्रतिशतले घट्यो । नमस्ते बित्तीय संस्था लिमीटेड, न्याग्दी ग्रुप पावर लिमीटेडका लगानीकर्ताले पनि ७ प्रतिशत भन्दा बढीले सेयर मूल्यमा क्षति व्यहोरे भने एभरेष्ट बैंकको कन्भरटेवल सेयरको मूल्यमा समेत ७ प्रतिशत बढीको गिरावट देखियो ।