काठमाण्डौ । जलविद्युत् प्रवर्द्धकहरु जलविद्युत् आयोजना विकास गर्दा वातावरणीय अध्ययन, समाजिक व्यवस्थापनमा संवेदनशील हुन सुझाव दिइएको छ।
हिमालयन हाइड्रो एक्पोको जलवायु परिवर्तन, वातावरणीय अध्ययन तथा सामाजिक व्यवस्थापनसम्बन्धी अन्तर्क्रियाका सहभागीले आयोजनामा हुने लगानीको दिगो प्रतिफल सुनिश्चिताका लागि यस्तो आवश्यकता बढ्दो रहेको औँल्याएका हुन्।
राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ संरक्षण अधिकृत मनीषराज पाण्डेले जलवायु परिवर्तनका असर वर्तमानमा मात्र नभएर भविष्यका लागि थप चुनौतीपूर्ण हुने आँकलन गरे। नेपालका अधिकांश जलविद्युत् आयोजना पहाडी इलाकामा बन्ने र संरक्षण गर्नुपर्ने क्षेत्रमै आयोजनाहरु धेरै हुँदा विकास र वातावरणलाई सन्तुलित रुपमा लैजानुपर्ने आवश्यकता रहेको उनले बताए। ‘हामीले जलचर संरक्षण गर्न पनि त हामीले हेर्नुपर्छ नि’, उनले भने, ‘विगतका पाठका आधारमा भावि दिनमा कार्ययोजना बनाउनु पर्ने महसुस हामीले गरेका छौँ। एकीकृत जलउपयोग नीतिअनुसार नदि बेसिनमा आधारित विद्युत् विकासमा जाँदा जलको उचित व्यवस्थापन सामाजिक आर्थिक वातावरणीय कुरामा संवेदनशील बन्नै पर्छ।’
सानिमा हाइड्रोका प्रमुख डा. सुवर्णदाश श्रेष्ठले वातावारणीय सामाजिक विषयवस्तुलाई हामीले प्राथमिकतामा नराखेकै कारण क्षति भोग्नुपरेको दृष्टान्त प्रस्तुत गरे। ‘अब जलविद्युत्मा लगानीमात्र सोच्ने होइन वातावरण समाजिक व्यवस्थापनमा सोच्नुपर्छ। जलवायु परिवर्तन, आयोजनाको दिगोपन, स्थानीय सहभागितामा जान सकेमात्र हाम्रा आयोजना र त्यसको प्रतिफल दिगो हुनेछ’, उनले भने।
वातावरणीय व्यवस्थापनमा वृक्षरोपणका लागि क्षेत्र पहिचान र विस्तार गर्न सरकारी कार्याशैली गलत रहेको टिप्पणी श्रेष्ठको थियो। उने भने, ‘आयोजना बनाउँदा वृक्षरोपण कहाँ गएर गर्ने जमिन नै पाएनौँ। हामी बिरुवा हुर्काउन तयार छौँ। नेपालको नाँगा डाँडा दिनुहोस् न, हामी खुसीसाथ गर्न तयार छौँ। तर, हामी आयोजनास्थल नजिकै किन्दै जाने कुराको समीक्षा गरौँ।’
डोल्मा इम्प्याक्ट फन्डका अधिकारी विद्यावारिधि सिग्देलले विदेशी लगानी ल्याउन विश्व प्रचलित मान्यता अनुसारका प्रतिवेदन खोज्ने बताउँदै पूर्वतयारीमा विशेष ध्यान दिन आग्रह गरे। कतिपय प्रवर्द्धक लाइसेन्समात्र बोकेर लगानी खोज्न आउँदा सफल नहुने गरेको उनको भनाइ थियो।
स्थानीय समुदायका समस्यालाई हेर्ने दृष्टिकोणमा पनि फरक बनाउन आवश्यक रहेको सिग्देलले औँल्याए। ‘हामी आयोजना बनाउन आफ्नै ढंगले बसेका शान्तरुपमा बसेका अरुको समाजमा छिर्दैछौँ’, उनले भने, ‘अनि स्थानीयमाथि हामीले पनि त एक खाले हस्तक्षेप गर्दैछौँ। खोलै घुमाउन खोज्छौँ, त्यसको असर उनीहरुले भोगेका समस्या सामान्य कुरा होइन भन्ने बुझौँ।’
एनएमबी बैंकका सरद तुलाधरले वातावरण र समाजिक पक्षलाई व्यवस्थित गर्न सरकारी निकायको सकारात्मक भूमिकाको अपेक्षा गरेका थिए।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago