काठमाण्डौ । सडक विभागले करोडौं लगानी गरी टलक्क परेको चिल्लो बाटो बनाउँछ । प्रयोगमा आएको केही महिना नबित्दै खानेपानीले भकाभक मायै नराखी भत्काइदिन्छ । महानगरपालिकाले मजबुत कालोपत्रे गरिएको भनेर पूरा प्रचार प्रसार गर्न पाएको हुँदैन, ढल निकास विभाग र टेलिकम जस्ता संस्थाहरु आउँछन, पाइपलाइन र तार बिछ्याउने भन्दै भत्काइदिन्छन् र कुरुप बनाइदिन्छन् । विद्युत प्राधिकरणको भूमिगत नेटवर्क बिस्तारको योजना समेत थपियो भने त सफाचट बाटोले केही दिनमै घिनलाग्दो स्वरुप पाउँछ । तर यही हो वर्षौदेखि चलिआएको देशको राजधानी काठमाण्डौको विकासे खासियत । 

राजधानी भनेर के गर्नु ? विकासको काममा सरकारी एजेन्सीहरुबीच नै समन्वय नहुँदा एउटाले बनाउने, अनि अर्को आएर भत्काइदिने दोहोरी चलिरहन्छ । फेरि पनि दीर्घकालीन विकास योजना बनाउनको साटो एउटा निकायको नाममा करोड खर्च गर्ने, त्यो योजनालाई भत्काएर फेरि अर्को शीर्षकमा त्यही करोड खर्च गर्ने नाटक पनि चलिरहेकै हुन्छ । भ्रष्टहरुलाई यो दोहोरीले फाइदै पुगे पनि सर्वसाधारण बटुवा तथा सवारी चालकहरु भने अव्यवस्थित विकास कामले वाक्कदिक्क बन्न थालेका छन् । 

पछिल्लो समय मेलम्चीको खानेपानी पाइप बिस्तार गर्ने नाममा काठमाण्डौको सडक जताततै भत्काइएको छ, खाल्डो पारिएको छ । केही महिनाअघि करोडौं खर्च गरेर व्यवस्थित गरिएका फूटपाथमा समेत मेलम्चीको बेल्चा र स्काभेटर परेको छ । जताततै खनिएको कारण पानी परेर घाम लाग्न हुँदैन, हिलो धूलोमा परिणत भई काठमाण्डौमा कुहिरीमण्डल हुन्छ । 

मेलम्ची खानेपानी आयोजनाका कारण भत्काइएका सडकहरुलाई पानी आउने आशामा सर्वसाधारणले सहिदेलान् । तर काठमाण्डौको मुटु, आन्तरिक र बाह्य पर्यटकहरुको समेत राम्रै भीड हुने क्षेत्रमा कसैले नभत्काएका, आफैं भत्किएर ठूला–ठूला खाल्डो परी पोखरीमा परिणत मुख्य सडकहरु समेत दुई विकासे अड्डाको हानाथापको कारण अझै बन्न नसकेको पाइएको छ । 

प्रसंग हो, धरहरा आसपासको सुन्धारा सडकको । सुन्धाराको आकाशेपुल अगाडिबाट धरहरातर्फ जाने बाटोको मुखमै बाटोमा ठूलो खाल्डो परी पोखरी भएको महिनौ भइसक्यो । तर बीच बाटोमा बनेको पोखरी पुरेर काठमाण्डौको कुरुप अनुहारलाई सुधार्नेतर्फ कुनै पनि निकायले ध्यान दिएका छैनन् । धरहरातर्फ जाने बाटोको मुखदेखि परेको खाल्डो धरहराको एक फन्को मार्दासम्म टुंगिदैन । पानी परेर जम्मा भएको पानी हतपत नसुक्ने कारणले दिनहुँजसो सुन्धाराजस्तो काठमाण्डौको मुटुमै सवारी साधनहरु डूबुल्की मार्दै हिँडिरहेका लाजमर्दो दृश्य देख्न सकिन्छ । 

‘सडक विभागले बनाउनुपर्ने भएकोले हामीले चासो नदेखाएका हौं । सुन्धाराजस्तो राजधानीको मुटुमै यस्तो दूरावस्था भएको हामीलाई थाहा छ, तर सडकले नबनाएका कारण यस्तो भएको हो ।’ 
-उत्तरकुमार रेग्मी-प्रमुख -भौतिक पूर्वाधार विकास विभाग, काठमाण्डौ महानगरपालिका

-------------------------------------------------------------------------------------

‘महानगरपालिकाले बनाउनुपर्ने बाटोमा हामीलाई किन मुछ्नुहुन्छ ? काठमाण्डौ महानगरपालिकाले आफ्नो दोष छोप्नलाई हाम्रो टाउकोमा अनावश्यक कुरा थोपरिदिएको हो ।’ 

दयाकान्त झा, प्रवक्ता सडक विभाग

 

‘यो क्षेत्रको सडक मध्य वर्षायाममा धान रोप्न ठीक्क पारिएको हिलाम्य खेतको गह्रा जस्तो भएको महिनौ बितिसक्यो ।’ सुन्धाराका होटल व्यवसायी प्रेम हिराचनले बिजशालासँग भने–‘हामीले पटक–पटक भन्दा समेत बाटो बनेन्, काठमाण्डौको अव्यवस्था झल्कने यस्तो मुख्य ठाउँमै यति धेरै लापरबाही छ भने देशको अन्य ठाउँको विकास कति लथालिंग होला ?’ 

सर्वसाधारणहरु विदेशी र स्वदेशी पर्यटकहरुको बाक्लो आवातजावत हुने क्षेत्रको केही मिटर बाटो मर्मत गर्नेमा काठमाण्डौ महानगरपालिकाले किन ध्यान नदिएको होला भन्ने बिषयमा आश्चर्य व्यक्त गर्छन । ‘धरहरा भूकम्पले ढलेपछि ठूटे बनेको छ ।’ आइतबार धरहरा क्षेत्रमै भेटिएको भक्तपुरका निरज कसजूले भने–‘ठूटे धरहराको दृश्यले निराश मनहरुलाई आसपासको भद्रगोल बाटो र ठूला खाल्डाहरुले अझ निराश बनाइदिन्छ ।’ 

सो क्षेत्रमा आवातजावत गर्ने विदेशीहरु समेत पानी जमेर गन्हाउन थालेको सो क्षेत्रमा नाक थुन्दै हिँड्न बाध्य छन् । सोही क्षेत्रलाई हेर्दै दैनिक देशका प्रधानमन्त्री, अन्य जिम्मेवार मन्त्री, प्रशासक तथा कर्मचारीहरु समेत आवतजावत गर्छन । तर धरहराको मुखैमा भद्रगोल काठमाण्डौलाई व्यवस्थित बनाउने बिषयमा कसैले चासो दिएको छैन ।

महिनौदेखिको खाल्डो पुर्ने तदारुकता नदेखाएको काठमाण्डौ महानगरपालिकाको भौतिक पूर्वाधार विकास विभागका प्रमुख उत्तरकुमार रेग्मीले बाटोमा ठूला–ठूला खाल्डो परेको र पानी जमेर पोखरी जस्तो भएको कुरा आफूले देखेको बताउँदै सो बाटो पुर्ने र बनाउने जिम्मा सडक विभागको रहेको दाबी गरे । ‘सडक विभागले बनाउनुपर्ने भएकोले हामीले चासो नदेखाएका हौं ।’ उनले भने–‘सुन्धाराजस्तो राजधानीको मुटुमै यस्तो दूरावस्था भएको हामीलाई थाहा छ, तर सडकले नबनाएका कारण यस्तो भएको हो ।’ उनले आफूले सुन्धराको यो सडक मार्गलाई गुणस्तरीय बनाउन गत वर्ष नै स्टीमेट तयार गरेको भए पनि त्यो मन्त्रालयबाट स्वीकृत नभएको दाबी गरे । ‘एशियाली विकास बैंकको प्रोजेक्ट अनुसार सडक विभागले बनाउने भन्ने थियो, अहिलेसम्म बनाएन ।’ उनले भने–‘सडक विभागले बनाउने भएपछि हामीलाई सरोकार भएन ।’ 

तर रेग्मीको कुरा खण्डन गर्दै सडक विभागका प्रवक्ता दयाकान्त झाले भने टुँडीखेल वरिपरिको मुख्य सडक निर्माण तथा मर्मतको काम आफूहरुको भए पनि धरहरातर्फ जाने बाटो मर्मतको काम काठमाण्डौ महानगरपालिकाको भएको दाबी गरे । ‘महानगरपालिकाले बनाउनुपर्ने बाटोमा हामीलाई किन मुछ्नुहुन्छ ?’ उनले संवाददातासँग प्रश्न गर्दै भने–‘काठमाण्डौ महानगरपालिकाले आफ्नो दोष छोप्नलाई हाम्रो टाउकोमा अनावश्यक कुरा थोपरिदिएको हो ।’ उनका अनुसार एशियाली विकास बैंकको सहयोगमा संचालित काठमाण्डौ दिगो शहरी यातायात आयोजना विभागले हेर्दैन । ‘त्यो आयोजना मन्त्रालयबाटै संचालित हो ।’ उनले थपे–‘हामीले हाम्रो कार्यक्षेत्रमा सडक मर्मत तथा स्तरउन्नतिको काममा कुनै कमजोरी गरेका छैनौ ।’ 

यसरी, दुई निकायको हानाथापले समेत सुन्धाराको सडक त्यति भद्रगोल अवस्थामा पुगेको सहजै बुझ्न सकिन्छ । विकासमा हानाथाप गरी देशकै मुटु राजधानीलाई कुरुप बनाउनेहरुको बिषयमा केपी ओली नेतृत्वको सरकारले चासो दिनुपर्ने देखिन्छ । ‘कुना काप्चामा अहिले नै पिच नहोला, तर सुन्धाराजस्तो ठाउँको सडक माछा पोखरीजस्तो हुन देशकै लागि लज्जाको बिषय हो ।’ सर्वसाधारणहरु भन्छन्–‘यो विषयमा प्रधानमन्त्रीले विशेष पहल लिउन् भन्ने हाम्रो अनुरोध हो ।’ 

सबै तस्विर : सुदर्शन शर्मा /बिजशाला