काठमाण्डौ। सरकारले विदेशबाट आउने नेपाली नागरिकलाई आफ्नो साथमा बढीमा २ वटा मोबाइल ल्याउन दिने निर्णय गरेको छ। 

मन्त्रिपरिषदको बैठकले झिटीगुन्टा नियमावली संशोधन गर्दै विदेशबाट आउने नेपालीले आफ्ना साथमा बढीमा २ वटा मोबाइल ल्याउन पाउने व्यवस्था गर्ने निर्णय गरेको हो। 

यसअघि २०७७ साल जेठ १५ गते प्रकाशित सुचनामा भन्सार ऐन, २०६४ को दफा ९ को उपदफा (३) अनुसार डेस्कटप कम्प्युटर वा ल्यापटप, ट्याप, घडी, क्यामरा, भिडियो क्यामरा र प्रयोग गरिरहेको सेलुलर मोबाइल फोन एक एकथान ल्याउन पाउने व्यवस्था थियो । तर मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगरीमा ६ महिना काम गरेर फर्किएकालाई थप एक थान मोबाइल फोन ल्याउन पाउने सुविधा सरकारले दिएको हो ।

मन्त्रिपरिषद्को यो निर्णय लागू भएपछि अब विदेशबाट आउने नेपाली आफूले चलाइरहेको मोबाइल र अर्को थप एउटा मोबाइल ल्याउन पाउनेछन्। सञ्चार र श्रम मन्त्रालयले आवश्यक गृहकार्य गरी छिट्टै यो व्यवस्था लागू गरिने सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। 

मन्त्रिपरिषद बैठकले एमडीएमएस लागू गर्ने निर्णय पनि गरेको छ।