काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ काठमाण्डौको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको सहकार्यमा विदेशबाट फर्किएका व्यक्तिहरुका लागि पुनः एकिकरण निर्देशिका बनाउने सन्दर्भमा सुझाव संकलन गर्न आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रममा प्रमुख सोधकर्ता उद्धवराज पौडेलले पुनःएकिकरणमा हालसम्म नेपालले गरेका कार्यक्रम र निर्देशिकाले मागदर्शन गरेका विषयवस्तुमाथि प्रस्तूती दिएका थिए । 

कार्यक्रममा अरिहन्त मल्टिफाइवर्स लिमिटेडका मानव संशाधन प्रबन्धक नारायणप्रसाद लामिछानेले विदेशबाट फर्किएका कामदारहरुको प्रोफाइल बनाउन आवश्यक रहेकोमा जोड दिए ।

त्यसैगरी, प्रगती टेक्सटाइलका प्रतिनिधि प्रदिप निरौलाले कामदारहरुलाई समेटेर भरपर्दो तथ्यांकको आवश्यकता रहेकोमा जोड दिँदै यसोगर्न सकिए माग र आपूर्ती, सिप मापनको व्यवस्थापन हुने बताए । सामाजिक विकास मन्त्रालयका अधिकृत रिता खतिवडाले निर्देशिकाहरुबाट तल्लो तहसम्म संस्थागत रुपमा समन्वय हुनुपर्नेमा जोड दिइन् ।

औद्योगिक कोरिडर कोशीका करिब २५ जना उद्यमीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका कार्यवाहक अध्यक्ष भीम पौडेलले पुनः एकिकरण कार्यक्रमलाई लागू गर्न सरकारले सु-शासनको प्रत्याभुति गराउनु पर्ने बताए।

उनले उद्योग सञ्चालनका लागि अहिले सहज अवस्था नरहेको अवस्थामा सबैले सकरात्मक सोचका साथ अघि बढ्न सकिए विदेशको सिपलाई देशको आर्थिक विकासमा लगाउन सकिने पनि बताए ।

उक्त कार्यक्रममा महासंघका सहायक निर्देशक हरि पौडेलले अन्तरक्रियाको उद्देश्यमाथि प्रकाश पारेका थिए । कार्यक्रम अन्तराष्ट्रिय श्रम संगठन, दिल्लीको सहयोगमा भएको थियो ।