 
                     
                                
                             
                                    काठमाण्डौ । विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट शनिबार साँझसम्म नेपालबाहिर विभिन्न १६ मुलुकमा मृत्यु भएका नेपालीको सङ्ख्या २४३ पुगेको छ। यो सातामात्रै थप ४३ नेपालीको निधन भएको पुष्टि भएको गैरआवासीय नेपाली सङ्घ स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले बताए।
गत मार्च महिनायता साउदी अरबमा मात्रै ४१ जनाको मृत्यु भएको त्यहाँस्थित राजदूतावासलाई उद्धृत गर्दै स्वास्थ्य समितिले उल्लेख गरेको छ। योसँगै साउदी अरबमा मात्रै सङ्क्रमणका कारण निधन हुने नेपालीको सङ्ख्या ५२ पुगेको साउदी अरबका लागि नेपाली राजदूत डा महेन्द्रसिंह राजपुतले जानकारी दिए। यो साता कतारमा पनि थप दुई नेपालीको कोरोना सङ्क्रमणका कारण निधन भएको छ।
स्वास्थ्य समितिका अनुसार यो साता स्पेन, पोल्याण्ड, भारत, कतार, र साउदी अरबलगायतका मुलुकमा कोरोना सङ्क्रमणदर सामान्यरूपमा वृद्धि भएको छ। समितिका अनुसार हालसम्म विश्वका ४० देशमा रहेका नेपाली कोरोना–१९ बाट सङ्क्रमित छन्।
कोरोनाका कारण हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड्स, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायत १६ देशमा रहेका नेपालीले ज्यान गुमाएका छन्।
यस्तै नेपालमा शनिबारसम्म ५३ हजार १२० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। तीमध्ये ३७ हजार ५२४ कोरोनामुक्त भएका छन्। यो कूल सङ्क्रमितको ७०.६ प्रतिशत हो। हालसम्म नेपालमा ३३६ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ।
कोरोना सङ्क्रमणका कारण नेपालसहित विश्वभर जम्मा ५७९ जनाको निधन भएको स्वास्थ्य समितिले जनाएको छ। यस्तै विश्वभर ९० हजार ७६७ जनामा नेपालीमा सङ्क्रमण देखिएको छ भने तीमध्ये ७१ हजार ७१७ जना कोरोनामुक्त भएका छन्।
नेपालसहित कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या औसत ७८.७ प्रतिशत रहेको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19