काठमण्डौ। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले नेपालको सेयर बजारमा विदेशी नागरिकलाई पनि सेयर खरिदबिक्री गर्न पाउने व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ।

आज आयोजित पूर्वबजेट अन्तर्क्रिया कार्यक्रममा एफएनसीसीआईले अर्थमन्त्री जनार्दन शर्मालाई यस्तो सुझाव दिएको हो। महासंघले विदेशी मुद्राको कारोबार खुला गर्नुपर्ने सुझाव पनि दिएको छ। कम्तीमा नेपाली रुपैयाँ र अमेरिकी डलरको कारोबार गर्ने व्यवस्था मिलाएमा हेजिङको समस्या समाधानमा टेवा पुग्ने महासंघको भनाइ छ।

यसैगरी बजारमा संस्थापक सेयरलाई पनि साधारण सेयरसरह कारोबार गर्ने व्यवस्था गर्नुपर्ने सुझाव महासंघले राखेको छ। नेप्सेमा इन्ट्राडे, सर्टसेललगायतका उपकरणको व्यवस्था ल्याइनुपर्ने सुझाव पनि महासंघले दिएको छ।