काठमाण्डौ । विदेश भ्रमणको विषयलाई लिएर नेपाल धितोपत्र बोर्ड (सेबोन)मा खैलाबैला मच्चिएको छ। 

सेबोनका उच्च तहका कर्मचारीहरुको बुधबार साँझ बैठक बसेको थियो। बैठकमा विदेश भ्रमणको विषयलाई कर्मचारीबीच नै असन्तुष्टि देखिएको कुरा कुनै एका सञ्चारकर्मीले सोधिखोजी गरेको विषयमा ठूलो चर्काचर्की नै चलेको बैठकमा सहभागी एक उच्च अधिकारीले जानकारी दिए। 

‘गत आर्थिक वर्षमा सेबोनबाट कतिजना कर्मचारी र कतिपटकसम्म विदेश भ्रमण गए भन्ने तथ्यांक उपलब्ध गराइदिन एकजना सञ्चारकर्मीले भनेको विषयमा बैठकमा व्यापक छलफल भएको थियो’, ती अधिकारीले भने, ‘विदेश भ्रमणको विषयलाई लिएर कर्मचारीहरुमा असन्तुष्टि देखिएको भन्ने कुराहरु कसरी बाहिरियो भन्ने विषयमा चर्काचर्की नै भयो।’

त्यसो त सार्वजनिक निकायबाट तालिम, गोष्ठी, कार्याशाल, अध्ययन–अनुसन्धानलगायतमा सहभागी हुन कर्मचारीहरु विदेश भ्रमणमा जानु ठूलो कुरो होइन। ‘तर, सेबोनभित्र केही कर्मचारी एक वर्षमै पटक–पटक विदेश भ्रमणमा जान पाउने र केही त्यस्ता अवसरबाट बारम्बार वञ्चित गराउने काम हुँदै आएको छ’, ती अधिकारीले भने, ‘धेरैजसो अध्यक्ष नजिकका कर्मचारीले मात्र विदेश भ्रमणको मौका पाउने गरेका छन्। यही कारणले पनि अहिले सेबोनभित्र कर्मचारीबीच नै मनमुटावको स्थिति सिर्जना भएको छ।’

अध्यक्ष हमाल फेरि आफूनिकटका केही कर्मचारीलाई लिएर अध्ययन भ्रमणका लागि विदेश जान लागेको पनि ती अधिकारीले जानकारी दिए। ‘अध्यक्षसँग को–को जाने टुंगो लागेको छैन’, ती अधिकारीले भने।

कार्यकाल थोरै समय रहेको बेला अध्यक्ष आफैँ यसरी अध्ययन भ्रमणमा विदेश जानुले राम्रो सन्देश नजाने पनि ती अधिकारीले बताए। ‘कार्यकाल सकिन लागेको बेला विदेश भ्रमणमा जानुभन्दा अध्यक्षले पुँजीबजारको विकास लागि गर्न बाँकी काममा ध्यान दिँदा उचित हुन्छ’, ती अधिकारीले भने।

विदेश भ्रमणको नोमिनेसन कमिटीमा सेबोनका सूचना अधिकारी तेजप्रसाद देवकोटा रहेका छन्। तर, बिजशालासँगको कुराकानीमा भने देवकोटाले बुधबारको बैठकमा विदेश भ्रमणका विषयमा छलफल भएको आफूलाई कुनै जानकारी नभएको बताए। 

विदेश भ्रमणको नोमिनेसन कमिटीमा रहेका देवकोटाले यसो भन्नुलाई स्वयंको ‘खिल्ली उडाउन’सरह हो। यसबारे देवकोटालाई जानकारी नभए कसलाई होला ? 

त्यसो त देवकोटाले कुनै विषयमा सूचना तथा जानकारी लिन खोज्दा पटक–पटक आफूलाई थाहा नभएको नै भन्ने गरेका छन्। ‘तपाइँलाई सूचना नै चाहिएको हो भने राइट टु इन्फर्मेसन (आरटीआई)मार्फत आउनुहोस्’, बिजशालाकर्मीसँग कड्किँदै देवकोटाले भने, ‘तपाइँले मागेका सबै कुरा मैले दिन मिल्नेसम्म दिने हो। दिन नमिल्ने सूचना मैले तपाइँलाई किन दिने ?’

सार्वजनिक निकायको जिम्मेवार पदमा बसेका देवकोटाको यस्ता तर्कनाले ‘सूचनाको हक’मा आमनागरिकको पहुँचको अवस्था कस्तो होला भन्ने प्रस्ट हुन्छ। देवकोटाले भनेजस्तै हरेक सूचना वा जानकारी लिन अब आरआईटीमार्फत नै जानुपर्ने हो भने सेबोनमा उनलाई सूचना अधिकारीका रुप राख्नुको औचित्य देखिँदैन।