काठमाण्डौ । मासिक १५० युनिटसम्म विद्युत खपत गर्ने घरायसी ग्राहकले चैत महिनाको महसुलमा २० प्रतिशत छुट पाउने भएका छन्। 

शुक्रबार ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तको अध्यक्षतामा मन्त्रालयमा बसेको नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति बैठकले मन्त्रिपरिषदसमक्ष घरायसी प्रयोगकर्ताले खपत गर्ने विद्युतको महसुलमा २० प्रतिशत छुट दिनका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले ३८ लाख घरायसी ग्राहकले १ सय ५० युनिटसम्म विद्युत प्रयोगमा चैत महिनाभरको महसुलमा २० प्रतिशत छुट पाउने प्रस्ताव गरेको हो । 

नेपाल विद्युत प्राधिकरणका अनुसार ३८ लाख ग्राहकलाई १ सय ५० युनिटसम्मको खपतमा २० प्रतिशत छुट दिँदा एक महिनामा सरकारी राजश्वमा ५० करोड बराबरको नोक्सान हुन्छ । तर, पछिल्लो समय प्राधिकरण उच्च नाफामा रहेका कारण केही करोडको राजश्व नोक्सानीले उसको समग्र आयमा ठूलो प्रभाव पर्दैन ।

कोभिड १९ को महामारी रोकथामका लागि सरकारले लकडाउन गरेको छ । यो अवस्थामा धेरैको रोजगारी र आयस्रोत गुमेको छ । यस्तो बेलामा बजारमा एलपी ग्याँसको समेत पर्याप्त आपूर्ति छैन । सर्वसाधारणलाई संकटको बेला ग्यासको साटो इण्डक्सन चुल्हो प्रयोगमा उत्प्रेरित गर्न घरायसी प्रयोगकर्ताका लागि विद्युत महसुलमा छुटको प्रस्ताव गरिएको मन्त्री पुनले बैठकपछि संचारकर्मीलाई जानकारी दिएका छन् । 

मन्त्री पुनले सर्वसाधारणलाई बिजुलीबाट खाना पकाउने अभ्यास घर घरबाट थाल्न समेत आह्वान गरेका छन् । 

मन्त्रालयले भारतीय नाकाबन्दीको बेला पनि ग्यासको अभाव हुँदा इण्डक्सन चुल्हो प्रयोगमा सहुलियत दिएको थियो । 

प्राधिकरणको तथ्यांक अनुसार नेपालमा १ सयदेखि १५० युनिटसम्म विद्युत खपत गर्ने घरधुरीको संख्या अधिक छ । घरायसी विद्युतका कुल ३८ लाख हाराहारीका प्रयोगकर्तामध्ये २७ लाख बढीले मासिक १५० युनिटभन्दा कम विद्युत खपत गर्छन् ।