काठमाण्डौ। देशभर चार्जिङ स्टेसन निर्माणको जिम्मा पाएको दिगोका आयोजनाको चरम लापरबाहीका कारण विद्युतीय सवारीचालक धनीले ठूलो सास्ती बेहोर्नु परिरहेको छ ।

जसको प्रत्यक्ष उदाहरण हो, चितवनको मुग्लिन बजारमा रहेको  ‘चार्जिङ स्टेसन’ । यो स्टेसन दुई महिनादेखि बिग्रिएर उपयोग विहिन बनेको छ । 

चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिन बजारमा रहेको विद्युतीय सवारी  चार्जिङ स्टेसन मर्मत नहुँदा समस्या सृजना भएको सेवाग्राहीले गुनासो गरेका छन् ।
 

सञ्चालनमा आएको एक वर्ष नबित्दै चार्जिङ स्टेसनमा ‘चार्ज’ गर्ने ‘नोजल’ फुट्नुका साथै स्टेसनका दुई डीसी चार्जर पनि बिग्रिएका छन् ।

हाल एउटा एसी चार्जर मात्र सञ्चालनमा छ ।सेवाग्राहीहरुका अनुसार एसी चार्जरबाट सवारीसाधन चार्ज गर्न धेरै समय लाग्छ ।नोजलमा समस्या देखिएता पनि कम्पनीले समयमै मर्मत गर्नेतर्फ ध्यान नदिएर लापरवाही गरेको सेवाग्राहीको गुनासो छ । 

राजमार्ग हुँदै चल्ने विद्युतीय सवारीका प्रयोकर्ताहरुले चार्जिङ स्टेसन बिग्रँदा हैरानी बेहोर्नुपरेको गुनासो गर्ने गरेका छन्। 
 

एक जना सेवाग्राहीले त सरकारले विद्युतीय सवारीसाधन प्रयोगमा जोड दिए पनि थप चार्जिङ स्टेसन निर्माण र बिग्रिएका स्टेसनको समयमै निर्माण गर्ने कुरामा ध्यान नदिएको गुनासो गरे । 

सर्बसाधारणको गुनासो बारे बिजशालाले पटक पटक सम्पर्क गर्न खोज्दा दिगोका आयोजनाका व्यवस्थापक शिव अधिकारी सम्पर्कमा आउन चाहेनन् । 
उक्त आयोजनाले नेपाल विद्युत् प्राधिकरणमार्फत देशभर ६२ चार्जिङ स्टेसन निर्माण गरिरहेको छ ।  देशभर १५३ चार्जिङ स्टेसन मध्ये २० वटामा समस्या कायमै छ ।

राजमार्गजस्तो संवेदनशिल क्षेत्रमा रहेको चाजिंङ स्टेशन समयमै मर्मत सम्भार गर्न बेवास्ता गर्ने कम्पनीलाई कडा कारवाही गर्न सेवाग्राहीले माग गरेका छन् ।