काठमाण्डौ । मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) ले विद्युत प्रसारण आयोजनाको टावरको जग निर्माणका लागि तीन जिल्लामा जग्गा प्राप्तिको प्रक्रिया सुरु गरेको छ।

एमसीएद्वारा सञ्चालित विद्युत प्रसारण आयोजनाअन्तर्गत टावरको जग निर्माणका लागि तनहुँ, पाल्पा र धादिङमा जग्गा प्राप्तिको प्रक्रिया थालेको हो। यसका लागि एमसीएले मंगलबार सूचना प्रकाशित गरेको छ। 

अमेरिकी अनुदान सहयोगमा सञ्चालित एमसीए नेपालले ती जिल्लामा पर्ने विद्युत प्रसारणलाइनको टावर निर्माण प्रयोजनका लागि आवश्यक जग्गा प्राप्त गर्ने सम्बन्धमा मन्त्रिपरिषद्ले २३ वैशाख २०७६ मा गरेको निर्णय कार्यान्वयनमा ल्याउन लागेको हो।

त्यसका लागि तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको अध्यक्षमा विभिन्न मितिमा बसेको मुआब्जा निर्धारण समितिको प्रथम बैठकबाट प्रारम्भिक कारबाही चलाई जग्गा प्राप्ति कार्य अगाडि बढाउने निर्णय भएको एमसीए नेपालले जनाएको छ।