काठमाण्डौ । दोश्रो बजारको पहिरो 'विनाशकारी' बन्दै गएको छ । आइतबार झै सोमबार पनि नेप्से परिसूचक दोहोरो अंकले घटेर ११०० मुनि जाने प्रयास गरेको छ ।
बजार सुधारका लागि भरपर्दा प्रयास नभएको र कतिपय गलत हौवा समेत फैलाइएका कारण लगानीकर्ताहरुको मनोबल लगातार कमजोर भइरहेको छ । मार्जिन कलको त्रास, घट्न नसकेको बैंक ब्याजदर, अर्थमन्त्रालय तथा नियामकबाट दिइएका निर्देशन लामो समयसम्म पनि कार्यान्वयन नभएको अवस्था, सम्पत्ति शुद्धिकरण सम्बन्धी कानूनको त्रास, ठूला लगानीकर्ताले लगानी क्षेत्र नै परिवर्तन गरी बजार धमाधम छाडेको अवस्था, कतिपय समूहको नियोजित रुपमै बजार घटाउने प्रयास लगायतका कारण बाली भित्र्याउने भनिएको स्वर्णिम समयमै नेप्से निरन्तर घटिरहेको छ ।
सूचिकृत कम्पनीहरुले धमाधम आकर्षक लाभांश घोषणा गरिरहँदा समेत यसको आकर्षण बजारमा देखिएको छैन । राम्रो लाभांश घोषणा गरिएकै कम्पनीमा उच्च बिक्री चाप देखिनुले लगानीकर्ताहरुको अत्यन्त कमजोर बनेको मनोबल प्रष्टिने विश्लेषकहरु बताउँछन् ।
कतिपय ब्रोकरहरुका अनुसार लगानीकर्तालाई अत्याउने र अनेकन हौवा फैलाएर राम्रै कम्पनीको सेयर समेत बिक्री गर्न बाध्य पार्ने खेलले समेत निकै ठूलो काम गरिरहेको छ ।
सोमबार नेप्से परिसूचक १६.१८ अंकले घटेर ११२३.८३ को विन्दूमा सीमित बन्न पुगेको हो ।
यो दिन पनि बजारमा राम्रा र बलिया कम्पनीको सेयरमा उच्च बिक्री चाप देखिएको छ । जसको फलस्वरुप सेन्सेटिभ इण्डेक्स ३.६६ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा १.०९ अंकको गिरावट आएको छ ।
यो दिन ट्रेडिङ समूहको उपसूचक ६.३३ अंकले बढेको छ भने बाँकी सबै समूहमा रातो पोतिएको छ ।
बैंकिङ समूह १३.०७ अंकले घटेको यो दिन विकास बैंक समूहमा ७.७७ अंक, वित्त समूहमा २.०९ अंक, माइक्रोफाइनान्स समूहमा ११.२३ अंक, जीवन बिमा समूहमा १३१.६२ अंक र निर्जीवन बिमा समूहमा ७७.४४ अंकको गिरावट आएको छ ।
होटल समूह १८.१६ अंकले घटेको यो दिन जलविद्युत समूहमा १४.३८ अंक, उत्पादन तथा प्रशोधन समूह ३०.४ अंक, म्युचुअल फण्ड समूहमा ०.०७ अंक र अन्य समूहमा १६.६६ अंकको गिरावट आएको छ ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १६९ कम्पनीका १२ लाख ४८ हजार ४०९ कित्ता सेयर ३४ करोड ३९ लाख १८ हजार २२१ रुपैयाँमा किनबेच भएको छ ।
सबैभन्दा बढी छिमेक लघुवित्तले १ करोड ८० लाख बढीको कारोबार गरेको छ ।
नेपाल बैैंकले १ करोड ७९ लाख बढीको कारोबार गरेको यो दिन सिटिजन्स बैंक इन्टरनेशनलले १ करोड ४९ लाख, एनआइसी एशिया बैंकले १ करोड १९ लाख, सिद्धार्थ बैंकले १ करोड १९ लाख, नेपाल लाइफ इन्स्योरेन्सले १ करोड १२ लाख, शिवम सिमन्टले ९७ लाख, प्रभू बैंकले ९६ लाख, कृषि विकास बैंकले ९६ लाख र नेपाल इन्भेष्टमेन्ट बैंकले ९२ लाख बढीको कारोबार गरेका छन् ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन बजारमा २० कम्पनीका लगानीकर्ताले मात्र कमाएका छन् । बाँकी १४९ कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
यो दिन साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ४ प्रतिशतको हाराहारीमा बढ्यो ।
नेशनल लाइफ इन्स्योरेन्सका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ७ प्रतिशतको हाराहारीमा घट्यो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19