– भक्तराज रसाइली 

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले वस्तु विनिमय बजार सञ्चालनका लागि नीतिगत तथा प्रक्रियागत व्यवस्था तय गर्ने निर्णय भएको छ।

बोर्डका अध्यक्ष डा. भीष्मराज ढुंगानाले निकट भविष्यमै वस्तु विनिमय बजार सञ्चालन गर्ने बोर्ड बैठकबाट निर्णय भएको जानकारी दिएका छन्। मुलुकको अर्थतन्त्रको आकार, औद्योगिक व्यवसायको विकास, वस्तु कारोबारको सम्भावनाका साथै आमलगानीकर्ताको हकहितका लागि ध्यानमा राखी २ वटा वस्तु विनिमय बजार सञ्चालन अनुमति दिई सञ्चालन गराउने धितोपत्र बोर्डको योजना छ। वस्तु विनिमय बजार सञ्चालनमा आएपछि वस्तु कारोबार व्यवसायीका लागि बजारको प्रतिस्पर्धी एवं गुणात्मक रुपमा विकास हुने गरी अनुमति प्रदान गरिने बोर्डले जनाएको छ।

बजार विश्लेषक हेमन्त बस्याल वस्तु विनिमय बजारले लगानी गर्ने थप माध्यमको प्रवेश हुने बताउँछन्। वस्तु विनिमय बजारले अल्पकालमा पुँजीबजारलाई झिनो नकारात्मक असर परे पनि समग्र बजारमा तलरता अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बस्यालको दाबी छ। हाल नियमन नभए पनि कारोबार भइरहेको अवस्थामा वस्तु विनिमय बजार अतिआवश्यक रहेको उनको भनाइ छ। 

दसौँ वर्षदेखिको पहल अब साकार भएमा लगानी विविधीकरण हुने र अधिकतम स्पेकुलेटरहरुले फाइदा लिन सक्ने बस्यालले जिकिरसमेत गरे। वस्तु विनिमय बजारमा मूल्य निर्धारण गर्ने संयन्त्रका विषयमा भने चुनौती रहेको उनको बुझाइ छ। स्थानीय तथा अन्तर्राष्ट्रिय बजारको मूल्य निर्धारणले अहम् भूमिका खेल्नसक्ने उनले बताए।

वस्तु विनिमय बजारसम्बन्धी ऐन, २०७४ दफा ६१ ले दिएको अधिकार प्रयोग गरी बोर्डले नेपाल सरकार अर्थ मन्त्रालयको स्वीकृति लिई नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले वस्तु विनिमय बजारसम्बन्धी विनियमवली, २०७४ गत २०७४ मंसिर ९ गतेदेखि लागू गरिसकेको छ।

नियमावलीअनुसार ५० करोड पुँजी पुर्याउने कम्पनीले मात्रै वस्तु विनिमय बजार सञ्चालन गर्न पाउनेछ। जुन पुँजीमा प्रतिव्यक्ति ५ प्रतिशत बढी हिस्सा रहनु हुँदैन।

वस्तु विनिमय बजार सञ्चालन गर्न चाहने कम्पनीले बोर्डसमक्ष २५ हजार रुपैयाँ शुल्कका साथमा पूर्वस्वीकृतिका लागि निवेदन दिनुपर्नेछ। बोर्डले उपयुक्त ठानी स्वीकृति दिएपछि मात्रै सञ्चालनको अनुमति प्रदान हुनेछ।

त्यसका लागि बोर्डले केही पूर्वाधार, सञ्चालकहरुको योग्यता, कार्यकारी प्रमुखको योग्यतासहितका व्यवस्था गरेको छ। यी तोकिएका व्यवस्थामा बोर्डले जाँचबुझ गरेरमात्रै स्वीकृति दिनेछ।

वस्तु कारोबार दलालले ग्राहकको आदेशअनुसार ग्राहकको नामबाट मात्रै बस्तु खरिद वा बिक्री गरी दलाली सेवा प्रदान गर्नेछ। त्यस्तै वेयर हाउस अर्थात वस्तु भण्डारणस्थलका सम्बन्धमा पनि कार्यविधि तयार गरी बोर्डमा पठाउनुपर्नेछ। वस्तुको नाम, इकाइ, परिमाण, स्तर, राख्ने समय, भण्डारण शुल्क, भुक्तानी दिने समयसमेत यसमा उल्लेख गर्नुपर्नेछ। वस्तु भण्डारण भएपछि त्यसको हस्तान्तरणका समयमा वस्तुको स्तरमा परिवर्तन आउन नदिन अपनाउनुपर्ने उपाय पनि स्पष्ट खुलाउनुपर्नेछ।

वस्तु विनिमय बजारले कारोबार गर्दा मूल्य तथा समय प्राथमिकताका आधारमा गर्नुपर्ने व्यवस्था गरिएको छ। बैंकबाटै रकमको कारोबार गर्नुपर्ने, कारोबार भएको वस्तुको मूल्यमा ०.०१ प्रतिशतभन्दा बढी नहुनेगरी सेवा शुल्क लिन पाउने व्यवस्था गरिएको छ।

यो बजारमा सुन, चाँदी, तामा, कच्चा तेल, कपास, कफीजस्ता वस्तुको करारमा कारोबार हुने गर्छ। क्रेता र बिक्रेताबीच भविष्यमा वस्तु खरिदबिक्री गर्नका लागि वस्तुको मूल्य, परिमाण, गुणस्तर तथा हस्तान्तरण मिति उल्लेख गरी तयार गरिएको करारलाई वस्तुको करार भनिन्छ। त्यस्ता करारको भौतिक हस्तान्तरण तथा नगदमा समेत राफसाफ हुने व्यवस्था हुन्छ। यस्तो किसिमको करार कारोबारका लागि कमोडिटी एक्सचेन्ज अर्थात वस्तु विनिमय बजार सूचीकृत गरिएका हुन्छन्।

वस्तु बजारमा कारोबारीले वस्तुको मूल्यमा हुने उतारचढावबाट सिर्जित जोखिम न्यूनीकरण गर्न तथा उक्त उतारचढावबाट फाइदा लिन वा दुई बजार (सोभन्दा बढी) बीच कहिलेकाहीँ हुन सक्ने मूल्य फरकबाट फाइदा लिने उद्देश्यले कारोबार गर्छन्। साथै, वस्तु नै खरिदबिक्री गर्नलाई समेत यस बजारमा कारोबार गर्ने गरिन्छ।