काठमाण्डौ। आगामी आर्थिक वर्षका लागि अन्तर्राष्ट्रिय विमानस्थल तथा अन्य आन्तरिक विमानस्थल निर्माण गर्न २० अर्ब बढी विनियोजन गरिएको छ। 

सिंहदरबारमा आज बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले विमानस्थल निर्माणका लागि २० अर्ब ३१ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी गराएका हुन्। यसमध्ये सबैभन्दा बढी पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले पाएको छ। यो विमानस्थल निर्माणका लागि मात्रै ८ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ। 

यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थल बनाउन, ट्याक्सी वे विस्तार गर्न तथा टर्मिनल भवन बनाउन ६ अर्ब ९५ करोड रुपैयाँ सरकारले विनियोजन गरेको छ। भैरहवास्थित गौतमबुद्ध विमानस्थलको थप काम र दोसो टर्मिनल बनाउन ३ अर्ब ५३ करोड विनियोजन गरिएको छ। 

सरकारले आन्तरिक विमानस्थलहरुको पूर्वाधार निर्माणका लागि भने १ अर्ब ३३ करोड रुपैयाँ विनियोजन गरेको छ।