– रेखा चन्द

काठमाण्डौ । बैंक तथा वित्तीय समस्या समाधानार्थ शुक्रबार उद्योगीव्यवसायीले काठमाण्डौको माइतीघरमा शान्तिपूर्ण मौन विरोध प्रदर्शन गरेका छन्। 

बैंकको बढ्दो ब्याजदर, प्रिमियर दरलगायतको विरुद्धमा उद्योगीव्यासायीले आज माइतीघरमा प्रदर्शन गरेका हुन्। प्रदर्शनमा उत्रिएका उद्योगीव्यसायीले ‘प्रिमियम दर वृद्धि नियन्त्रण गर’, ‘ब्याजदर एकल अंक गर’, ‘ब्याजदरमा स्थिरता कायम गर’, ‘चालु पुँजी कर्जा निर्देशिका स्थगित गर’, ‘बैंकिङ आतंक बन्द गर’लगायतका मागसहितका पम्प्लेट बोकेका थिए। 

नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौको अगुवाइमा उद्योगी–व्यासायीहरुले बिहान ११ बजेदेखि १२ बजेसम्म माइतीघरमा शान्तिपूर्ण मौन विरोध गरेका छन्। आफ्ना माग कतैबाट पनि सुनुुवाइ नभएपछि आफूहरु सडकमा उत्रिन बाध्य भएको नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौका अध्यक्ष दिनेश श्रेष्ठले बताए। ‘अब सडकबाट गरिएको माग पनि सम्बोधन नभएर हामी चरणबद्ध आन्दोलन गर्न बाध्य हुनेछौँ’, उनले भने।

प्रदर्शनमा खाद्य व्यापार संघ ललितपुर, नेपाल कृषि मेसिनरी व्यवसायी संघ, नेपाल तयारी पोसाक संघ, नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघ, भक्तपुर उघोग वाणिज्य संघ, ललितपुर उद्योग वाणिज्य संघलगायतमा आबद्ध उद्योगव्यवसायी सहभागी भएका छन्। 


देशभरका व्यवसायी अहिले बैंकको बढ्दो ब्याजदर, प्रिमियमलगायतको आन्दोलन गरिरहेका छन्। 

केही दिनअघि गर्भनर महाप्रसाद अधिकारीले निजी क्षेत्रका सदस्यहरुलाई बोलाएर राष्ट्र बैंकले माग सम्बोधनका लागि पहल गर्ने आश्वासन दिएका थिए। ‘तर, अहिलेसम्म पनि केही कदम नचाली राष्ट्र बैंक मौन बसेका कारण पनि विरोध गर्न लागिएको हो’, श्रेष्ठले भने।