काठमाण्डौ । विश्व बैंकले आर्थिक वर्ष २०१८ मा नेपालको   वृद्धिदर ४.६ प्रतिशत  हुने  प्रक्षेपणमा पुनः जोड  दिएको छ । 

विश्व बैंकले बुधबार नेपाल अपडेट्स  प्रतिवेदन सार्वजनिक गर्दै   यसअघि प्रक्षेपित ४.६ प्रतिशतको वृद्धिदरलाई कायम राखेको हो ।

विश्व बैंकले प्रत्येक २ वर्षमा सार्वजनिक गर्ने नेपाल अपडेट्सले आगामी दुई आर्थिक  वर्षको  वृद्धिदर ४.३ प्रतिशतमै सीमित बन्ने प्रक्षेपण समेत सार्वजनिक गरेको छ ।

विश्व बैंकले आगामी २ आर्थिक वर्षसम्मको अवधिमा समेत आर्थिक वृद्धिदरका लागि चालु तथा बजेट खाता घाटालाई चुनौति भनेको छ । किनभने संघीयताको कार्यान्वयनको क्रममा यी दुवै खाता आगामी दिनमा झनै घट्नसक्नेछन् । प्रतिवेदनमा भनिएको छ । 

विश्व बैंकले बाली लाग्ने समयमा आएको बाढी तथा पहिरोका कारण कृषि उत्पादन घट्ने र रेमिट्यान्सको आप्रवाह घटेका कारण यसले पर्यटन तथा यातायात जस्ता सेवा क्षेत्रको वृद्धिदरमा समेत नकारात्मक प्रभाव पर्नसक्ने विश्लेषण गरेको छ । समग्रमा सेवा क्षेत्रको वृद्धिदर भने आगामी २ वर्षसम्म पनि वृद्धिकै बाटोमा कुद्नसक्ने प्रक्षेपण समेत गरिएको छ । 

उद्योग क्षेत्र समेत बुम हुने, नियमित विद्युत आपूर्ति कारण उत्पादन क्षेत्रमा समेत सन्तोषजनक वृद्धि हुने उल्लेख गर्दै रिपोर्टमा पुननिर्माणको कार्यले समेत २०१८ भित्र गति लिने बताइएको छ ।

विप्रेषण आप्रवाहको कमी, बढ्दो आयात र घट्दो निर्यातका कारण चालु खाता घाटा अझ भयावह बन्नसक्ने प्रक्षेपण समेत गरिएको छ । यसले शोधानान्तर बचत तथा विदेशी मुद्रा सञ्चितीमा समेत गम्भीर असर गर्नसक्ने विश्लेषण गरिएको छ । 

''वैदेशिक रोजगारीमा जानेहरुको संख्या घटिरहेको  छ । रेमिटान्सको वृद्धिदर समेत विगत २ वर्षदेखि लगातार घटिरहेको छ ।' विश्व बैंकका अर्थशास्त्री सुद्युम्न दाहालले भने-'यो प्रक्रियाले भुक्तानी सन्तुलनमा नराम्रोसँग हिट गर्न सक्छ ।'