काठमाण्डौ। बहुपक्षीय कर्जादाता निकाय विश्व बैंकले विश्व अर्थतन्त्रको औसत विस्तारको तुलनामा नेपाली अर्थतन्त्रको विस्तार सन्तोषजनक रहने प्रक्षेपण गरेको छ ।

विश्व अर्थतन्त्रबारे सन् २०२४ को पहिलो प्रक्षेपण सार्वजनिक गर्दै विश्व बैंकले यस्तो देखाएको हो ।

विश्व बैंकले सार्वजनिक गरेको ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स’ अनुसार सन् २०२४ मा विश्वको औसत आर्थिक वृद्धिदर २.४ प्रतिशत रहने छ ।

विश्व बैंकले सन् २०२४ मा विश्व अर्थतन्त्र सन् २०२३ को भन्दा पनि बढी सुस्ताउने प्रक्षेपण गरेको छ । सन् २०२३ मा २.६ प्रतिशत रहेको विश्व अर्थतन्त्रको वृद्धिदर सन् २०२४ मा २.४ प्रतिशतमा सीमित हुनेछ।

साथै उसले यसै वर्ष अर्थात् चालू आर्थिक वर्ष २०८०/८१ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने अनुमान गरेको छ ।

गत आव २०७९/८० मा नेपालको आर्थिक विस्तार १.९ प्रतिशत मात्र थियो । आगामी आवमा भने नेपालको अर्थतन्त्र ५ प्रतिशतले विस्तार हुने प्रक्षेपण समेत विश्व बैंकले गरेको छ ।

तर, विश्व अर्थतन्त्र भने आगामी आर्थिक वर्ष अर्थात सन् २०२५ मा समेत सुस्त नै रहने छ । साथै उसले आगामी वर्ष विश्व अर्थतन्त्रको विस्तार २.७ प्रतिशत मात्र रहने अनुमान गरेको छ ।

खासगरी ठूलो अर्थतन्त्र भएका मुलुकको सुस्त विस्तारले समग्र विश्व अर्थतन्त्र प्रभावित हुने छ । अमेरिकी अर्थतन्त्र आगामी वर्ष १.७ प्रतिशतले मात्र विस्तार हुने छ भने जापानी अर्थतन्त्र आगामी वर्ष ०.८ प्रतिशतले मात्र विस्तार हुने अनुमान छ ।

चीनको अर्थतन्त्र आगामी वर्ष ४.३ प्रतिशतले बढ्ने छ । रुसको अर्थतन्त्र आगामी वर्ष ०.९ प्रतिशतले मात्र बढ्ने छ ।

दक्षिण एशियामा भारत अगाडि

भारतीय अर्थतन्त्रमा भने निकै राम्रो प्रगति  छ । यस वर्ष ६.४ प्रतिशतले बढ्ने भारतीय अर्थतन्त्रले आगामी वर्ष ६.५ प्रतिशतको वृद्धि समात्ने अनुमान छ ।

अर्थतन्त्र विस्तारमा भारतले केहि वर्षयता उच्च गति समातेको छ । यो लय आगामी वर्ष समेत निरन्तर रहने छ ।

अघिल्लो वर्ष भारतले ७.२ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको थियो । आगामी वर्ष ६.५ प्रतिशतको वृद्धि प्राप्त गर्नेछ ।

दोस्रो स्थानमा बंगलादेश छ । उसले आगामी वर्ष ५.८ प्रतिशतले अर्थतन्त्र विस्तार गर्नेछ ।

तेस्रो स्थानमा भने माल्दिभ्स छ । उसले आगामी वर्ष ५.५ प्रतिशतले अर्थतन्त्र विस्तार गर्नेछ । चौथो स्थानमा भुटान छ । भुटानले आगामी वर्ष ४.६ प्रतिशतको वृद्धिदर समात्ने छ ।

पाँचौ स्थानमा नेपाल छ । छैटौं स्थानमा श्रीलंका र पाकिस्तानको समान वृद्धिदर हुने छ ।

दुवै मुलुकले  अगामी वर्ष समान १.७ प्रतिशतको वृद्धिदर प्राप्त गर्ने  प्रक्षेपण छ ।-एजेन्सी

यो पनि हेर्नुस् :

सन् २०२४ मा विश्व अर्थतन्त्र अझै सुस्ताउने विश्व बैंकको प्रक्षेपण, गरीब देशको अवस्था डामाडोल बन्नसक्ने