काठमाण्डौ । पहिलो र दोश्रो चरणको स्थानीय निर्वाचनमा पहिलो पार्टी बन्न सफल प्रमुख प्रतिपक्षी दल नेकपा एमाले वीरगञ्ज महानगरपालिकाको प्रारम्भिक मतगणनामा निकै पछाडि परेको छ । 

असोज २ गते सम्पन्न प्रदेश नम्बर २ का स्थानीय तहमध्ये एकमात्र महानगरपालिका वीरगञ्जको प्रारम्भिक मतगणनामा राष्ट्रिय जनता पार्टी(राजपा)ले अग्रता लिएको छ भने एमालेको अवस्था निकै नाजुक रहेको छ। 

राजपाको तर्फबाट मेयरका उम्मेद्वार राजेशमानसिंह ८३ मत ल्याएका छन् भने उनलाई नेपाली कांग्रेसका अजयकुमार दिवेदीले ७६ मतसहित पछ्याइरहेका छन् । संघीय समाजवादी फोरमका विजयकुमार सरावगी ५७ मतसहित तेश्रो स्थानमा छन् । एमालेले २५ मत पनि कटाएको छैन । 

प्रमुख निर्वाचन अधिकृत हुमनाथ पराजुलीका अनुसार वीरगञ्जको मतगणना मंगलबार दिउँसोबाट सुरु भएको हो । सुरुमा १ र ३२ नम्बर वडाबाट मतगणना थालिएको छ । पराजुलीका अनुसार १४ वटा समूह बनाएर मतगणना थालिएको छ, यहीकारण मतपरिणाम चाँडै आउने अपेक्षा गरिएको छ । 

वीरगञ्ज महानगरपालिकामा १ लाख ८ हजार मतदाता रहेका थिए । जसमध्ये ८४ हजारको हाराहारीमा मत खसेको थियो । 

प्रारम्भिक अवस्थालाई हेर्दा वीरगञ्ज महानगरपालिकामा एमाले निकै पछाडि पर्ने संभावना देखिएको छ । प्रारम्भिक नतिजामा उति धेरै हेरफेर भएन भने यो महानगरमा एमालेको जमानत जफत हुनसक्ने मतगणनामा खटिएका एक कर्मचारीले बताए । तर, ४ सयको हाराहारीमा मतगणना नहुँदै यस्तो निश्कर्षमा पुुग्नुु मूर्खता हुनेछ ।