काठमाण्डौ । नेपाल क्लियरिङ हाउसको नेशनल पेमेन्ट इन्टरफेस(एनपीआई)मा वैदेशिक रोजगार बोर्ड पनि जोडिएको छ । 

बोर्डले एनपीआईमा जोडिएर भुक्तानीहरु पूर्ण स्वचालित रुपमा गर्ने गरी नेपाल क्लियरिङ हाउससँग सम्झौता गरेको हो । 

सम्झौता पत्रमा वैदेशिक रोजगार बोर्डका तर्फबाट संस्थाका कार्यकारी निर्देशक राजनकुमार श्रेष्ठ तथा एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।  

यो सम्झौतापछि वैदेशिक रोजगार बोर्डले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनपीआईसँग जोडी सोझै लाभग्राहीहरुको बैंक खातामा भुक्तानी गर्न सक्नेछ । यसले वैदेशिक रोजगारीमा अपाङ्गता अथवा मृत्यु भएका कामदारहरुको क्षतिपूर्तिको भुक्तानी, भेण्डर भुक्तानी, लगायत सम्पूर्ण भुक्तानीहरु पूर्ण स्वचालित रुपमा हुनेछ । 

सम्झौताअघि सम्पूर्ण भुक्तानी कारोबारहरु चेकमार्फत गरिने गरिन्थ्यो । यसले बोर्डको सेवा प्रवाहमा उल्लेख्य सुधार आउनुका साथै पीडित परिवारले सहज रुपमा भुक्तानी प्राप्त गर्न सक्ने आशा गरिएको छ । 

नेपाल सरकारले बैदेशिक रोजगार व्यवसायलाई प्रवद्र्धन गर्न, सो व्यवसायलाई  सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन तथा बैदेशिक रोजगारमा जाने कामदार र वैदेशिक रोजगार व्यवसायीको हकहित संरक्षण गर्ने प्रयोजनले बैदेशिक रोजगार बोर्डको स्थापना गरेको हो । आफ्ना विभिन्न प्रक्रिया तथा सेवाहरु डिजिटाइज गर्ने क्रममा बोर्डले नीतिगत सुधार र व्यवस्था गर्दै आएको छ । साथै, बोर्डले वैदेशिक रोजगारीमा जाने कामदारहरुले कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकमको संकलन कनेक्ट आइपीएसमार्फत पनि गर्दै आएको छ ।